खेत जोत्ने ट्याक्टर पल्टिंदा खेतालाको मृत्यु
मोरङको धनपालथान ५ मा धान दिवसका दिन १५ असारमा रोपाइँ भइरहेका बेला जोत्दै गरेको ट्याक्टर पल्टिएर एक खेतालाको मृत्यु भएको छ।
स्थानीय लखना रायको खेतमा धान रोपाइँ भएकाले वडा नम्बर ६ का मोहमद सजाद मिया (२२) खेतालाका रुपमा काम गर्न आएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार को २ त ६२१८ नम्बरको खेत जोत्दै गरेको ट्याक्टर अपरान्ह ३ बजे पल्टिंदा सजादलाई च्यापेको थियो । उनको घटनास्थलमै मृत्यु भएको छ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले धान रोपाइँमा धेरै कामदारहरु व्यस्त रहेका बेला ट्याक्टर पल्टिएको बताए।
बीउ काडेर रोपाइँस्थलमा पुर्याउन गएका सजादका बाबु नजिकै अर्को ट्याक्टरले खेत जोत्दै थिए । खेतमा व्यस्त कामदारहरुले सजादलाई बचाउन पल्टिएको ट्याक्टर उठाउने प्रयास गरे पनि सफल भएनन्।
कमल रिमाल, विराटनगर