म्याग्दीमा सुरक्षा मापदण्ड कार्यान्वयनको अनुगमन
बन्दाबन्दी खुकुलो गर्ने नेपाल सरकारको निर्णयसँगै व्यापार व्यवसाय र व्यक्तिगत हिँडडुलमा वृद्धि भएपछि सम्भावित चुनौती र समुदायमा संक्रमण फैलन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीले बजार अनुगमनलाई तीव्रता दिएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको नेतृत्वमा प्रहरीबाट बेनी बजारका करीब ३५० वटा पसल, व्यवसाय र संघसंस्थाहरू, प्रत्येक घरघरमा बन्दाबन्दीलाई व्यवस्थापन गर्न गृह मन्त्रालयले ल्यायका सुरक्षा मापदण्डहरूको कार्यान्वयनको अवस्थालाई अनुगमन गरीमापदण्ड पूरा नगर्ने पसल तथा व्यवसायहरूलाई चेतावनी दिई तुरुन्त आवश्यक व्यवस्था गर्न अनुरोध गरिएको छ।
अनुगमनको क्रममा पसल तथा व्यवसायीहरूले हात धुने साबुनपानी, स्यानीटाइजरको व्यवस्था, सामाजिक दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग, भीडभाडलाई कम गर्ने तथा सवारी साधनहरूले जोरबिजोर प्रणाली पालना गरेको वा नगरेको, ग्राहक तथा सार्वजनिक स्थानमा हिंडडुल गर्ने सर्वसाधारणहरूले सामाजिक दूरी कायम गरे नगरेको तथा मास्कको अनिवार्य प्रयोग गरे वा नगरेको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा करीब ७५ प्रतिशत पसल, व्यवसाय तथा संघसंस्थाहरूले सुरक्षा मापदण्ड पालना गरेको पाइएको छ।
नेपाल सरकार गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट कोभिड–१९ सम्बन्धी अनुशासन पालना नगरी उल्लिखित मापदण्डहरूको अवज्ञा गर्ने व्यक्ति तथा व्यवसायहरूलाई निरन्तर अनुगमन गरी प्रचलित कानून बमोजिम कारवाही समेत गरिनेछ।
नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भई २०७६ साल चैत महीनाबाट लागू गरिएको बन्दाबन्दीको कार्यान्वयनको अनुगमनको क्रममा हालसम्म सुरक्षा मापदण्डको अवज्ञा गर्ने ६१ वटा सवारी साधनलाई नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम कारबाही गरिएको छ भने ५७ जनालाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कानूनी कारवाही गरिएको छ।
उल्लिखित कारवाहीमा जिल्ला प्रशासन कार्यालयबाट आवश्यक कारवाही गरी करीब रु ५० हजार राजस्व संकलन भएको छ।
सुरक्षा मापदण्डको पालना गरे नगरेको सम्बन्धमा नियमित फ्लो अप र अनुगमन गरी बारम्बार अवज्ञा गर्ने व्यवसाय र संस्थाहरूलाई प्रचलित कानूनको दायरामा रही कारवाही गरिने छ।