समाचार सोमबार, असार १५, २०७७

दुर्घटनामा मृत्यु भएका छोराको बीमा रकम हत्याउन बुहारीको हत्या

हिमालखबर

दुर्घटनामा मृत्यु भएका छोराको बीमा रकम हत्याउन बुहारीको हत्या

एक वर्ष अघि सवारी दुर्घटनामा छोराको मृत्यु भएपछि हेटौंडाको एउटा परिवारले बुहारी सुस्मिता थापालाई चरम यातना दिएर अन्त्यमा हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानमा सुस्मिता हत्याको मुख्य कारण दुर्घटनामा छोराको मृत्यु भएपछि परिवारका सदस्यहरुले क्षतिपूर्ति बापत पाउने रकम, निजको कार्यालयबाट भुक्तानी लिने रकम, सामाजिक सुरक्षा कोषबाट पाउने रकम र बीमा रकम समेत ससुरालाई दिनुपर्छ भनी परिवारबीच आपसी–विवाद भएको थियो।

यही कारण सो परिवारले सुस्मितालाई दबाब दिने गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित सूर्य चोक बस्ने २४ वर्षीया सुस्मिता क्षेत्री थापाको लौरो र लोहोरोले प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा मृतकका ससुरा प्रकाश थापा, नन्द सीता थापा, सासू तुलसा थापा र जेठी नन्द दुर्गा थापा कार्की रहेका छन्।

सुस्मिता क्षेत्री थापा आफ्नै घरको भान्सा कोठाभित्र २ असार विहान मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाको अनुसन्धान गर्ने क्रममा मृतकका ससुरा प्रकाश थापा र नन्द सीता थापाले पटक पटक काठको लौरो र ढुङ्गाको लोहोरोले निर्ममतापूर्वक सुस्मितामाथि प्रहार गरी हत्या गरेको, बाबुछोरीले घटनास्थललाई आत्महत्या जस्तो देखाउनको लागि भान्छा कोठाभित्र बिग्रिएका सबै चिजबस्तु यथास्थानमा मिलाएर राखेको प्रहरीले बताएको छ।

यसैगरी सासू तुलसा थापाले फुटेका सिसाका टुक्राहरु प्लाष्टिकका झोलामा हाली बरन्डामा राखेको तथा २ असार बिहान प्रकाश थापाले छिमेकमा गई बुहारीले भान्छा कोठामा आत्महत्या गरेको भनी जानकारी गराएको अनुसन्धानबाट खुल्न आएको छ।

कपिलवस्तुस्थित ससुरालीबाट मोटरसाइकलमा फर्कने क्रममा नवलपरासीको दाउन्नेमा सुस्मिताका श्रीमान् रूपेन्द्र थापाको २३ असोज २०७६ मा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो।

उनको मृत्युको दोष सुस्मितालाई दिई पारिवारका सदस्यहरुबाट पटक पटक आक्षेप लगाई मानसिक तनाव दिने गरेको, ससुरा प्रकाश थापाले सुस्मितालाई जबरजस्ती करणी उद्योग गरेको र यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस