आज पनि राष्ट्रिय सभाको कार्यसूचीबाट हटाइयाे अख्तियार विधेयक
राष्ट्रिय सभाको बैठकले आज पारित गर्ने गरी कार्यसूचीमा राखिएको अख्तियार विधेयक आज पनि हटाइएको छ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने राष्ट्रिय सभाको संभावित कार्यसूचीमा उल्लेख थियो।
करीब १ घण्टा चलेको बैठकको अन्तिममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अख्तियार विधेयक र भ्रष्टाचार निवारण विधेयक कार्यसूचीबाट हटाइएको जानकारी दिएका हुन्।
अख्तियार विधेयक यसअघि ९ असारमा पनि कार्यसूचीमा राखेर हटाइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ लाई निजी क्षेत्रको भ्रष्टाचारको छानबिन गर्ने अधिकार समेत प्रदान गरेको भन्दै विरोध हुँदै आएको छ।
विरोधकै कारण ५ दिन अघि बसेको नेकपा स्थायी कमिटीको बैठकले पनि यो विधेयकलाई तत्काल अगाडि नबढाउने निर्णय गरेको थियो।