अन्तर्वार्ता/विचार मंगलबार, असार १६, २०७७

महामारीमा नबिर्सौं यी सम्भावित मानवीय संकट

हिमालखबर

महामारीमा नबिर्सौं यी सम्भावित मानवीय संकट

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संयन्त्रलाई सबल पार्नुपर्ने त छँदैछ, यो सँगै महामारी सिर्जित आर्थिक, सामाजिक र मानसिक समस्यामा आफूले सक्ने सहयोग गर्न हाम्रो हातेमालोले ठूलो अर्थ राख्छ ।

डा. नारायण ज्ञवाली / डा. सन्तोष पोखरेल

कोरोनाभाइरस (कोभिड–१९) महामारी विरुद्धको लडाइँमा विश्व नै ६ महीनायता संघर्षरत छ । खोप पत्ता लागिनसकेको अवस्थामा महामारी रोकथामका लागि धेरै मुलुकहरूले बन्दाबन्दी (लकडाउन), क्वारेन्टिन जस्ता उपाय अवलम्बन गरिरहेका छन् । नेपालमा पनि ११ चैतदेखि बन्दाबन्दी घोषणा गरियो । तर, त्यो अवधिमा व्यवस्थित क्वारेन्टिन, बृहत् परीक्षण, स्वास्थ्य पूर्वाधार निर्माण, आवश्यक उपकरणको आपूर्ति, जनशक्ति व्यवस्थापन आदिमा सरकार फितलो बन्दा संक्रमण रोकथाम प्रभावकारी हुन सकेन।

त्यति मात्र होइन, बन्दाबन्दीमा सम्पूर्ण आर्थिक गतिविधि र रोजगारीका बाटो ठप्प हुँदा कोभिड–१९ भन्दा पनि बेरोजगारी, भोकमरी, मानसिक तनाव जस्ता संकट देखियो । न्यून आय भएका देशमा लगातारको बन्दाबन्दीले फाइदाभन्दा पनि बढी असर पुर्‍याउँछन्।

नेपाल जस्ता कम र मध्यम आय भएका देशहरूको तुलनामा कोभिड–१९ का संक्रमित र मृत्यु संख्या विकसित देशहरूमा धेरै गुणा ठूलो छ । यी कम आय भएका देशहरूसँग नियमित परीक्षणका लागि स्रोत–साधनको अभाव भएकाले यस्तो भिन्नता देखिएको तथ्य नकार्न सकिंदैन।

यो पनि पढ्नुहोस्- महामारीको अन्त्य नभएसम्म... !

हामीकहाँ कोभिड–१९ बाट भएको मानवीय क्षतिको तथ्यांक पनि पूर्ण छैन। किनकि, नेपालमा प्रायःजसो घरमै ज्यान गुमाएकाहरूको मृत्युको कारण खोजिंदैन। यसो हुनुमा राज्यको सुरक्षा संयन्त्रले निगरानी गर्न नसक्नु मुख्य कमजोरी हो। यति हुँदा पनि नेपालमा १५ असारसम्म कोभिड–१९ बाट २८ जनाको मृत्यु भइसकेको औपचारिक आँकडा छ। संक्रमितको संख्या साढे १२ हजार नाघिसकेको छ।

यो महामारी नेपालका लागि हरेक किसिमले चुनौतीपूर्ण देखिएको छ। महामारी फैलिएको लामो समय भइसक्दा पनि स्वास्थ्य क्षेत्रको तयारी अझै दयनीय नै छ। न क्वारेन्टिनको उचित व्यवस्थापन छ, न त उपचारका लागि पर्याप्त अस्पताल, सघन उपचार कक्ष र स्वास्थ्यकर्मी नै छन्। विडम्बना के छ भने, यी कुराको व्यवस्था अर्को तीन–चार महीनामा होला भनेर विश्वस्त हुन सकिने तयारी पनि छैन।

कोरोना नियन्त्रणमा बिर्सिएको ‘देश अनुसारको भेष’

नेपाली बोलीचालीमा प्रायः सुनिने एउटा उखान छ– ‘देश अनुसारको भेष’ । तर, कोभिड–१९ महामारीको संकटसँग जुध्न महत्वपूर्ण रणनीति बन्न सक्ने यो उखान हामीले बिर्सियौं । नेपालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि हाम्रो भूगोल, समाज, जनसंख्या, जीवन–व्यवहार, अर्थव्यवस्था आदिलाई हेरेर यसै अनुसार आफ्नै मोडेल बनाउन जरुरी थियो । तर, विकसित देशहरूले आफ्नै परिवेश अनुसार बनाएका मोडेललाई हामीले अनुसरण गर्‍यौं । यहाँको स्वास्थ्य संरचना, सेवा–सुविधा, सामाजिक आवश्यकता, भौगोलिक विविधता, वर्गीय असमानता आदिको विश्लेषण नगरी नीति–नियमहरू बनायौं।

विकसित देशहरूले आफ्नै परिवेश अनुसार बनाएका मोडेललाई हामीले अनुसरण गर्‍यौं । यहाँको स्वास्थ्य संरचना, सेवा–सुविधा, सामाजिक आवश्यकता, भौगोलिक विविधता, वर्गीय असमानता आदिको विश्लेषण नगरी नीति–नियमहरू बनायौं।

नेपाल जस्तो केन्द्रीकृत जनसंख्या भएको देशमा सामाजिक दूरीको नीति कार्यान्वयन पनि चुनौतीपूर्ण नै छ । धेरै शहर, भीडभाड, सार्वजनिक यातायात प्रणाली र जीवनशैली नै कठिन प्रकृतिका छन् । अझै पनि धेरै मानिसमा सामान्य तहको स्वास्थ्य चेतना र अनुशासन छैन, देश महामारीसँग जुधिरहँदा संवेदनशीलताको पनि कमी छ । आफ्नो क्षेत्रमा क्वारेन्टिन स्थल बनाएको भन्दै विरोध गर्ने, कोभिड–१९ का बिरामी उपचारपछि निको भएर घर फर्कंदा गाउँलेले कुट्न खोज्ने, नाकाबाट भित्रिएकालाई दुव्र्यवहार गर्ने आदि प्रवृत्ति जनस्तरमा रहेको असंवेदनशीलता र अभद्रपनका दृष्टान्त हुन्।

यस्ता सामाजिक सोच र व्यवहारले हामी आफू मात्र बच्ने र अन्य व्यक्तिलाई जेसुकै समस्या भए पनि ती सरोकारका विषय होइनन् भन्ने जस्तो तुच्छ मानसिकताबाट गुज्रिरहेको देखाउँछ । नाकामा अड्किएका नागरिकहरूलाई देशभित्र ल्याएर क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउनुपर्छ, अस्पतालमा स्वास्थ्य उपचारको बन्दोबस्त मिलाउनुपर्छ भन्ने कुरामा सहमत देखिन्छौं, तर यी कुरा आफ्नो टोल–छिमेक, समुदाय वा नजिकको अस्पतालमा गर्ने विषय आउँदा त्यसको विरोधमा उत्रिन्छौं । यस्तो द्वैध चरित्रले यो महामारी तत्कालै रोकिने सम्भावना देखिंदैन । बरु आगामी दिनमा कोभिड–१९ सम्बन्धित अन्य सामाजिक, आर्थिक र मानसिक संकट झन् बढ्नेमा दुईमत नहोला।

यो पनि पढ्नुहोस्- महामारीमा यसरी खोल्न सकिन्छ विद्यालय

अहिलेको महामारी चौधौं शताब्दीको ब्ल्याक–डेथ (प्लेग) को जस्तो कहालीलाग्दो भने छैन । त्यो वेलाको महामारीले आधाभन्दा बढी युरोपेलीहरूको मानवीय क्षति भएको थियो। कुनै प्रकोप वा महामारीले सम्पन्न–विपन्न वर्ग, बौद्धिक–निरक्षर आदि केही पनि हेर्दैन। अहिले पनि कोभिड–१९ को महामारी हामी सबैको हो र हरेक व्यक्ति यसबाट उत्तिकै जोखिममा छन्। व्यापक स्रोत–साधन भएका देश र व्यक्ति पनि यससँग कठिनतापूर्वक जुधिरहनुले यसलाई पुष्टि गर्छ। यद्यपि, महामारी सिर्जित आर्थिक–सामाजिक धक्काका कारण अधिकांश निम्न वर्गले नै धेरै मूल्य चुकाउनुपर्नेछ।

प्लेग वा फ्लु महामारीमा पनि सामाजिक र आर्थिक असमानताले संकटलाई चरम खराब स्थितिमा पुर्‍याएको थियो । उहिले र अहिलेको समय त फेरिएको छ, तर सबैभन्दा ठूलो जोखिममा सीमान्तकृत, गरीब र अल्पसंख्यकहरू नै छन् । विशेषगरी दैनिक ज्यालादारी गरेर हातमुख जोड्ने यो वर्ग कामविहीन हुँदा महामारीभन्दा पनि ठूलो समस्या गरीबी नै हुने गर्छ । नेपालमा १८.७ प्रतिशत जनसंख्या अर्थात् ५६ लाख गरीबीको रेखामुनि छन् । उनीहरूलाई दैनिक गुजारा चलाउन समस्या छ।

सहयोग र समन्वयको बाटो

कोभिड–१९ महामारी र यसको रोकथामका लागि लगाइएको बन्दाबन्दीको कारण देशको अर्थव्यवस्था खस्किएको छ । अमेरिकाको येल विश्वविद्यालयका प्राध्यापक अहमद मुशफिक मोबारकले नेपालका विभिन्न दुर्गम ठाउँबाट लिइएको तथ्यांकका अनुसार, लगातारको बन्दाबन्दीले नेपालको आर्थिक गतिविधि सुस्ताउँदा खाद्य सुरक्षामा पर्ने असरले पहिले कहिल्यै नदेखिएको भोकमरी बढेर कुपोषण लगायत स्वास्थ्य समस्या देखा पर्नेछ र त्यसले निम्त्याउने मानवीय क्षति झन् ज्यादा हुनेछ । त्यसैले हाम्रा नीति–नियम भाइरसको जोखिम न्यूनीकरणका साथै खाद्य अभाव र भोकमरीको जोखिमलाई सम्बोधन गर्ने गरी बनाउन जरुरी छ।

महामारीले आर्थिक चाप पारेर नयाँ गरीबहरू पनि उत्पादन गरिरहेको छ । तिनीहरूको पहिचान गर्ने संयन्त्र बनाई आवश्यक सहयोग गर्ने नीति आवश्यक छ । विकासोन्मुख राष्ट्रहरूले महामारीबाट आर्थिक रूपमा प्रभावित नागरिकको पहिचान गरी सहयोगका बाटोहरू खोल्नुपर्छ, जुन कुरा लण्डन बिजनेश स्कूलका प्राध्यापक इलियस पपाइन्नु लगायत विश्वका अर्थशास्त्रीहरूले शुरूआती दिनदेखि नै जोड दिंदै आएका छन्।

यातायात र व्यापार दुवै आर्थिक विकासका आधारभूत विषय हुन् । तर, यी कुराले संक्रमणलाई फैलाउन सघाउने भएकाले जोखिम पनि उत्तिकै हुन्छ । नेपालमा २९ जेठदेखि मानव आवागमन पूर्णरूपमा खुलाउँदै बन्दाबन्दी खुकुलो पारेसँगै व्यापार–व्यवसाय, कलकारखाना, कार्यालयहरू खुल्न थालिसकेका छन् । तर, यसबीचमा कोभिड–१९ को जोखिम हटिसके झैं ठानेर मानिसहरूले सामान्य मापदण्ड पनि अनुसरण गरेको देखिंदैन । भौतिक दूरीको पालना हराइसकेको छ भने कतिले त मास्क लगाउन पनि छोडिसकेका छन्।

नीति–निर्माताहरूले समसामयिक नीति अवलम्बन र कार्यान्वयन गर्नुपूर्व हामीले सामाजिक रूपमा गरीबहरूको दैनिकी र स्वास्थ्यलाई प्राथमिकता दिने गरौं । समाजमा आर्थिक हिसाबले सुदृढ भएकाहरूले आर्थिक, मानसिक र स्वास्थ्य समस्यामा रहेकाहरूलाई आवश्यक सहयोग गरौं।

अब सम्पूर्ण विश्व नै कोभिड–१९ विरुद्ध खोपको पर्खाइमा छ । अनुसन्धान गर्ने विभिन्न संघ–संस्थाहरू लामो समयदेखि खोप बनाउने दौडमा लागे पनि अमेरिकाको मोर्डना र चीनको सिनोभ्याक कम्पनी लगायतले बनाएको भ्याक्सिनको परीक्षण भइरहेको छ । आशा गरौं, छिटै यी भ्याक्सिनको प्रयोग सफल हुनेछ र विश्वव्यापी रूपमा बजारमा आउनेछन् । अहिलेलाई भने हामी संयमित र अनुशासित भई हरेक वर्गलाई उत्तिकै महत्व दिंदै कोभिड–१९ रोकथामका आधारभूत विषयहरूलाई अवलम्बन गरेर यो महामारीको सामना गरौं । भौतिक दूरी कायम गर्ने, नियमित हात धुने, सार्वजनिक स्थलहरूमा स्यानिटाइजर राख्ने र त्यसको प्रयोग अनिवार्य गरौं।

जसरी राष्ट्र–राष्ट्र मिलेर महामारी फैलनबाट रोक्ने प्रयत्न गर्न सक्छन्, त्यसरी नै टोलटोल मिलेर रोग बाहेकका अरू आर्थिक, सामाजिक र मानसिक समस्याको पहिचान र समाधान गर्न सक्छन् । नीति–निर्माताहरूले समसामयिक नीति अवलम्बन र कार्यान्वयन गर्नुपूर्व हामीले सामाजिक रूपमा गरीबहरूको दैनिकी र स्वास्थ्यलाई प्राथमिकता दिने गरौं । समाजमा आर्थिक हिसाबले सुदृढ भएकाहरूले आर्थिक, मानसिक र स्वास्थ्य समस्यामा रहेकाहरूलाई आवश्यक सहयोग गरौं। जबसम्म हरेक कुनामा मानिसहरू यस महामारीबाट सुरक्षित हुँदैनन्, तबसम्म हामी कोही कतै पनि सुरक्षित नभएकाले हाम्रो स–सानो सहयोग पनि महत्वपूर्ण हुनेछ।

(कोरोनाभाइरस, डेंगी जस्ता भाइरसका भ्याक्सिन तथा औषधिहरूको खोजी परियोजनाहरूमा संलग्न डा. ज्ञवाली अष्ट्रेलियाको क्विन्स्ल्यान्ड मेडिकल रिसर्च इन्स्टिच्यूटका भाइरोलोजिष्ट हुन् भने बालरोग विशेषज्ञ डा. पोखरेल आम्दा अस्पताल, बुटवलमा कार्यरत छन्।)

प्रतिकृया दिनुहोस