रिपोर्ट सोमबार, असार १५, २०७७

आज राष्ट्रिय धान दिवस : सुदूरपश्चिम प्रदेशमा सकियो ५० प्रतिशत रोपाइँ

हिमालखबर

आज राष्ट्रिय धान दिवस : सुदूरपश्चिम प्रदेशमा सकियो ५० प्रतिशत रोपाइँ
तस्वीरहरू: उन्नती चौधरी

उन्नती चौधरी, कैलाली

आज राष्ट्रिय धान दिवस । किसानहरू रोपाइँसँग खेतमा दही चिउरा खाएर रमाइलो गर्ने चलन छ । ‘मुठी खाएर मुरी उब्जाउने’ महीनाका रुपमा चिनिने १५ असारलाई नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ।

कृषि खेतीमा प्रविधि र यान्त्रिकीकरण गर्न नसक्दा, जनशक्ति कामका लागि आफ्नो थातथलो छाडी शहर र विदेश पलायन हुँदा मुलुक खाद्यान्नका लागि परनिर्भर हुन थालिसकेको छ । तर यस वर्ष कोरोनाको कहरले धेरै जनशक्ति गाउँ फर्किएकाले असारको पहिलो सातामा नै रोपाइँ सकिन थालेको छ।

कैलारी गाउँपालिका वडा नं. ३ उत्तर भड्रीका भलमन्सा छोटेलाल चौधरी भन्छन् "यो वर्ष समयमै पानी परेकोले गाउँका किसानहरूले असारको पहिलो सातामै रोपाइँ गरिसके । म आफैले कयौं बिघा जमिन लिजमा लिएर खेती गरिरहेको छु ।यो वर्ष राम्रो मौसम भएकोले ६ असारमा नै रोपाइँ सकाएँ।"

कोरोनाले गर्दा कामकाजी मान्छे पनि घरमै रहेकोले रोपाइँ छिट्टै शुरु गरेको चौधरीले बताए । उनले यो वर्ष पर्याप्त मात्रमा आकाशे पानी परेकोले जमिन मुनिको पानी प्रयोग नभएको बताए।

यस्तै धनगढी उपमहानगरपालिका १६ का वडा अध्यक्ष लक्ष्मी नारायण चौधरी असारको पहिलो सातामै गाउँभरिका मान्छे रोपाइँ सकिसकेको बताउँछन्।

अरु वर्ष असारको पहिलो सातादेखि रोपाइँ शुरु हुने भए पनि यो वर्ष जेठ महीनामै शुरु भएको चौधरीले बताए । थारु समुदायमा खेत सकेर हरदहुवा खाने चलन छ । अध्यक्ष चौधरीले आफ्नाे गाउँमा हरदहुवा पनि खाइसकेको बताए। 

समयमै पानी परेर किसानलाई खेती गर्न सजिलो भएकाले उनीहरू खुशी छन् । तर सहलले विपत्ति निम्त्याउन सक्ने भएकाले निराश पनि छन्।

यस्ता विपत्तिले पनि नेपाल अर्बौंको धान बाहिर देशबाट आयात गर्नुपरिरहेको सुदूरपश्चिम कृषि निर्देशनलायका सूचना अधिकारी टेकबहादुर विष्टले बताए।

उनले विगतमा नेपाल कृषि प्रधान देशको रुपमा चिनिएको थियो तर अहिले देश अर्बौंको धान आयात गरेर आफ्ना जनता पालिरहेको छ । चालु आर्थिक वर्षको ११ महीनामा मात्र ३१ अर्बको चामल आयात गरिसकेको उनले बताए।

नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा धान खेती हुँदै आएको उनले बताए । नेपालमा मौसमको आधारमा चैते, बर्खे धान खेती हुँदै आएको छ । तर वितरण प्रणालीलाई राज्यले व्यवस्थि गर्न नसक्दा पहाडी जिल्लामा खाद्य संकट भईरहेको छ ।

मन्त्रालयका प्रबक्ता खगेन्द्र शर्माका अनुसार "धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र सम्बृद्धि" नारा रहेको यस वर्षको धान दिवसमा कोरोना भाइरसको कारण विगतका वर्षहरूको जस्तो औपचारिक कार्यक्रमको आयोजना भने गरिने छैन ।

उनले सुदूरपश्चिममा ५० प्रतिशत रोपाई सम्पन्न भईसकेको जानकारी दिँदै यो वर्षका धेरै किसान घरमै दही चिउरा खाने बताए ।

सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले असार १५ को पूर्व सन्ध्यामा आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि कोरोना कहरका कारण यस बर्ष औपचारिक कार्यक्रम नगर्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस