समाचार सोमबार, असार १५, २०७७

कैलालीमा बालिका बलात्कार : सांसद चौधरीले घटना मिलाउन खोजेको आरोप, सांसद भन्छन्- दबाब दिएको छैन

हिमालखबर

उन्नती चौधरी, कैलाली

कैलालीको कैलारी गाउँपालिका–२ की ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कैलारी-२ का २९ वर्षीय दीपेन्द्र चौधरी (कुश्मी) पक्राउ परेका हुन्।

३२ जेठमा युवकले पसलमा बोलाई मुखमा कपडा कोचेर बलात्कार गरेको पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख छ । तर, घटना ढिलो गरी सार्वजनिक भयो । अत्यधिक रक्तस्राव भएर बेहोश भएकी बालिकालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएपछि मात्र यो विषय सार्वजनिक भएर आरोपित युवक ११ असारमा प्रकाउ परेका हुन्।

त्यसअघि पीडक पक्षले रकम दिएर मिलाउने प्रयास गर्दै घटना सार्वजनिक गरे ज्यान लिने धम्की दिएको पीडित बालिकाका आफन्तले बताएका छन्।

अस्पतालमा उपचारका क्रममा योनी च्यातिएको देखिएपछि एक नर्सले सोधपुछ गर्दा बालिकाले सबै कुरा बताएकी थिइन्। नर्सकै पहलमा जिल्ला प्रहरी कार्यालयमा १० असारमा जाहेरी दिएको पीडितका आफन्तले जानकारी दिए।

बालिकाले युवकले पसलमा बोलाएर मुखमा कपडा कोचेर बलात्कार गरेको र घटनाबारे कसैलाई बताए मार्ने धम्की दिएको बालिकाले बयान दिएकी छिन्।

घटना मिलाउन खोजेको आरोप

बालिकाका आफन्तका अनुसार, आरोपित युवकका परिवारले गाउँमै घटना मिलाउने प्रयास गर्दै बाहिर लगे राम्रो नहुने धम्की दिएका थिए । आरोपित चौधरीका दाजु गौरीशंकर चौधरीकै पहलमा मिलाउने र धम्की दिने काम भएको पीडित पक्षको भनाइ छ। गौरीशंकर प्रतिनिधिसभाका सांसद तथा पूर्व कृषिमन्त्री हुन्।

बालिकाका एक आफन्तले भने, "घटना प्रहरीकहाँ नलैजानु बरु पैसा कति चाहिन्छ दिन्छौं, तर घटना सार्वजनिक गरे तिमी र तिम्रो आमालाई मारिदिन्छौं भनेछन् ।" पीडित बालिकाले पनि घटनाबारे कसैलाई भने मारिदिने धम्की दिएको बताएको एक प्रहरी अधिकारीले बताए।

अहिले पनि घटना मिलाउन दबाब आइरहेकाले आफूहरुलाई गाउँमा बस्न असुरक्षित भएको बालिकाको परिवारले बताएका छन्। "हामी गरीब छौं, उनीहरु आर्थिक र राजनीतिक रुपमा बलिया छन्, न्याय पाउँदैनौं कि भन्ने चिन्ता छ", बालिकाका परिवारका एक सदस्यले भने।

मैले दबाब दिएको छैन’ – सांसद चौधरी

सांसद चौधरीले भने आफूले कुनै पनि दबाब नदिएको प्रतिक्रिया दिएका छन् । घटना मिलाउन खोजेको आरोप लागेको विषयमा सोध्दा उनले भने, "कैलालीका केही मिडियाले पनि मैले मिलाउन खोजेको भनेर लेखेछन्, तर मैले घटना भएको हो भने दोषीलाई कानूनले सजाय दिनुपर्छ र पीडितले न्याय पाउनुपर्छ भनेको छु।”

घटना सार्वजनिक भएको दिन पीडितका बुबासँग टेलिफोनमा छोटो कुराकानी भने गरेको चौधरीले बताए। "तर मिलाउने वा अन्य कुनै दबाब दिन नभई घटनाको बारेमा बुझ्न मात्रै थियो", उनले भने।

प्रतिकृया दिनुहोस