समाचार सोमबार, असार १५, २०७७

विद्युत् प्रसारण र वितरण प्रणाली सुधार्न एडीबीको रु.२४ अर्ब सहुलियत ऋण

हिमालखबर

विद्युत् प्रसारण र वितरण प्रणाली सुधार्न एडीबीको रु.२४ अर्ब सहुलियत ऋण

एशियाली विकास ब्याङ्क (एडीबी) ले नेपालको विद्युत् प्रसारण तथा वितरण प्रणालीको सुधारका लागि २० करोड अमेरिकी डलर (करीब रु. २४ अर्ब) सहुलियतपूर्ण ऋण दिने भएको छ । एडीबीले नेपालको ऋण प्रस्तावलाई स्वीकृत गरेको हो।

करीब एक दशक लामो विद्युत् अभावपछि पछिल्ला वर्षहरुमा नेपालले विद्युत् क्षेत्रमा राम्रो सुधार गरिरहेको एडीबीले जनाएको छ । यद्यपि, विद्युत् ओसारपसार गर्ने प्रसारण लाइन तथा वितरण प्रणालीमा पर्याप्त सुधार हुन नसक्दा विद्युत् आपूर्तिको गुणस्तर कमजोर छ । कतिपय स्थानमा विद्युत् उत्पादन भए पनि प्रसारण लाइनको अभावमा विद्युत्‌को धेरै खपत हुने क्षेत्रमा लैजान अवरोध छ । त्यस्तै, वितरण प्रणालीको कमजोरीका कारण घर–घरमा माग अनुसारको विद्युत् आपूर्तिमा कठिनाइ आउने गर्छ।

यही अप्ठ्यारोलाई सम्बोधन गर्न विद्युत् प्रसारण लाइन र वितरण प्रणाली सुधारका लागि ऋण दिन लागेको एडीबीले जनाएको छ।

खासगरी, काठमाडौं उपत्यका, भरतपुर र चितवनको विद्युत् आपूर्ति प्रणालीमा सुधारका लागि यो ऋण रकम उपयोग गरिनेछ । यी क्षेत्रहरुमा विद्युत् आपूर्ति प्रणाली कमजोर रहेका कारण अकस्मात् विद्युत् काटिने समस्या छ । यो ऋण रकमले प्रदेश-२ का विद्युत् नपुगेका घरपरिवारमा पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच पुर्‍याउन सहयोग गरिने एडीबीले जनाएको छ।

एडीबीको यो ऋण सहायतासँगै नर्वे सरकारले पनि प्रदेश-२ को विद्युत् प्रणालीमा सुधारका लागि ३ करोड ५० लाख डलर (करीब रु. ४ अर्ब २० करोड) सहयोग गर्दैछ । त्यस्तै, नर्वेले नै नेपाल विद्युत् प्राधिकरणलाई करीब रु. ६० करोड  सहयोग गर्दैछ।

प्रतिकृया दिनुहोस