खेलकुद सोमबार, असार १५, २०७७

क्रिकेट संघद्वारा चार समिति विस्तार

हिमालखबर

क्रिकेट संघद्वारा चार समिति विस्तार

नेपाल क्रिकेट संघले प्रतियोगिता समिति, प्राविधिक समिति, आर्थिक समिति र सञ्चार समिति विस्तार गरेको छ।

बन्दाबन्दीअघि बसेको क्यान समितिले चार वटै समितिका संयोजक तोकेको थियो । समिति संयोजकहरुसँगको समन्वयमा अध्यक्ष र महासचिवलाई समिति विस्तार गर्ने जिम्मा दिइएको थियो । बन्दाबन्दीका कारण समिति विस्तारमा ढिलाइ भएको महासचिव अशोकनाथ प्याकुरेलले बताए।

क्यानको प्राविधिक समितिको संयोजक प्रशान्तविक्रम मल्ल छन् । समितिका अन्य सदस्यमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्ट छन् । प्राविधिक समिति संयोजक संजयराज सिंह छन् । सदस्यहरुमा वीरेन्द्रबहादुर चन्द, अमितवीर पाण्डे, अरुणकुमार अर्याल र संजय गुरुङ छन्।

आर्थिक समिति संयोजकमा रोशनकुमार सिंह छन् । उनी क्यान कोषाध्यक्ष पनि हुन् । सो समिति सदस्यहरुमा माधव कर्माचार्य र दुर्गाराज पाठक छन् । त्यस्तै सञ्चार समिति संयोजक महासचिव प्याकुरेल छन् भने सदस्य भानुभक्त सिग्देल छन्।

महासचिव प्याकुरेलले राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षण शिविरमा राख्न राष्ट्रिय खेलकुद परिषदसँग स्वीकृति मागेको जानकारी दिए । तर परिषदले स्वीकृति दिइसकेको छैन । बन्दाबन्दीमा घर गएका उपत्यकाबाहिरका खेलाडी काठमाडौँ आउन सकेका छैनन्।

विश्व क्रिकेट लिग २ का नेपालले खेल्ने तय भएका चार वटा शृंङ्खला रोकिइसकेका छन् । ती प्रतियोगिता कहिले हुने भन्ने निश्चित नभए पनि खेलाडीको फिटनेश कायम राख्न प्रशिक्षणमा राख्न लागेको प्याकुरेलले बताए ।

विदेशी प्रशिक्षक राख्नका लागि पनि छलफल चलिरहेको क्यानले जनाएको छ । तर विश्वकप निर्धारित मितिमा हुने निश्चित नभएको र क्यानले प्रस्ताव गरेका प्रशिक्षक तत्काल अन्यत्रै अनुबन्ध भएको कारण तत्काल टुङ्गो लाग्ने अवस्था नभएको जनाइएको छ।

प्रतिकृया दिनुहोस