बोइङ ७३७ म्याक्स सिरिजबारे ट्रम्पसँग ‘नयाँ सूचना’ अमेरिकाद्वारा उडान स्थगित,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आकाशमा बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु उडान नगर्न आदेश दिएका छन् ।
इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स सिरिज विमान उडेको केही समयभित्रै दुर्घटना हुँदा १५७ जनाको मृत्यु भएपछि यो सिरिजका विमानको उडान स्थगन गर्न थालिएको हो । यही मोडेलको लायन एयरको विमान पनि छ महिनाअघि इन्डोनेसियामा उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको थियो ।
राष्ट्रपति ट्रम्पले उक्त आदेश जारी गरेलगत्तै अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासनले बोइङ ७३७ म्याक्स सिरिजका विमानमा कुनै कमजोरी नदेखेको दाबी गरेको छ । तर, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै विमानका बारेमा केही “नयाँ सूचना” प्राप्त भएको बताएका थिए । तर उनले यसबारे विस्तृतमा जानकारी दिन अस्वीकार गरे ।
“यो मोडलका सबै विमानको उडान स्थगन गरिएको छ, र यो अहिलेबाटै लागू भएको छ,” ट्रम्पले भने । ट्रम्पले अमेरिकी जनताको सुरक्षा सर्वोपरी महत्वको भएको जनाउँदै अमेरिकी नागरिक उड्डयन प्रशासनले यस बारेमा थप प्रष्ट पार्ने पनि बताए ।
यसअघि ट्रम्पले उडान स्थगनबारे क्यानाडाका अधिकारीहरु, अमेरिकी क्यारियर्स र विमान निर्माता बोइङसँग पनि समन्वय गरेका थिए । उनले बोइङले समस्यालाई चाँडै समाधान गर्ने आशा गरे ।
यसैबीच, बोइङले विज्ञप्ति जारी गर्दै म्याक्स सिरिजका विमान पूर्ण सुरक्षित रहेको दाबी गरेको छ । “बोइङ ७३७ म्याक्सको सुरक्षाप्रति आफूहरुलाई पूर्ण आत्मविश्वास छ”, विज्ञप्तिमा भनिएको छ । कम्पनीले अमेरिकी नागरिक उड्डयन प्रशासनसँग बसेर विमानको सुरक्षा प्रबन्धबारे एउटा निष्कर्षमा पुग्ने पनि जनाएको छ ।
बोइङका प्रमुख कार्यकारी डेनिस मुलेनबर्गले कम्पनीले सचेततापूर्वक सक्रियताका साथ कार्य गरिरहेको बताए ।
अमेरिका सहित युरोपेली मुलुकहरु, चीन, सिंगापुर, अस्ट्रेलिया, भारत लगायतका विश्वका अधिकांश मुलुकले बोइङ ७३७ सिरिजका विमानहरुको उडान स्थगन गर्ने र आफ्नो आकाशबाट उड्न नदिने घोषणा गरिसकेका छन् । –रासस/एएएपी