परिषदबाट कोरोनाभाइरस र यसको प्रभाव सम्बन्धी १२८ विषयमा अनुसन्धान हुँदै
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरस सम्बन्धी १२८ विषयमा अनुसन्धान भइरहेको जनाएको छ । परिषद्ले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै १२८ विषयमा अनुसन्धान भइरहेको जनाएको हो।
परिषद् आफैले कोरोनाभाइरस र यसको प्रभावको बारेमा १३ वटा विषयमा अध्ययन गरिरहेको छ । पत्रकार सम्मेलनमा बोल्दै परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत मेघनाथ धिमालले १३ मध्ये पाँच वटा पूरा हुने चरणमा रहेको बताएका छन्।
धिमालका अनुसार थप पाँच वटा अनुसन्धान कार्यान्वयनको चरणमा रहेको र बाँकी तीन वटा अनुसन्धानका ‘इथिकल एप्रुभल’ लिने चरणमा रहेका छन्।
परिषद् बाहेक अन्य विभिन्न संघसंस्थाले पनि कोरोनाभाइरस सम्बन्धी विषयमा अनुसन्धान गरिरहेका छन् । जुनसुकै संघसंस्थाले स्वास्थ्यका हरेक विषयमा अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृति लिनुपर्ने व्यवस्था छ।
परिषद्बाहेक अन्य विभिन्न संघसंस्थाले ११५ कोरोना भाइरससम्बन्धी विषयमा अनुसन्धान गर्न प्रस्ताव पेश गरेका छन्।
परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत धिमाल ११५ मध्ये परिषद्ले ४० विषयमा अनुसन्धान गर्न अनुमति दिइसकेको छ भने बाँकी बाँकी अनुमतिको प्रक्रियामा रहेको बताउँछन्।
यसबाहेक परिषद्ले कोरोनाभाइरसको उपचारमा सहयोगी देखिएका पाँच प्रकारका औषधिहरु र उपचार विधिमाथि ट्रायल गर्दैछ।
‘ड्रग ट्रायल’ गर्न चाहिने औषधि नेपाल भित्र्याउन परिषद्ले औषधि व्यवस्था विभागको स्वीकृतिका लागि राय मागिसकेको छ।