चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गर्ने
नेपाल चिकित्सक संघ र डा.गोविन्द केसीका प्रतिनिधिहरुबीच आज भएको छलफलपछि संघले डा केसीका माग पूरा गराउन शनिबार सम्बद्ध संस्थाहरुसँग बृहद बैठक गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
दुई पक्षकाबीच दिउँसो करिब तीन घण्टा भएको छलफलपछि चिकित्सक संघले शनिवार निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालक, चिकित्सक सम्बद्ध विभिन्न संस्था लगायतका निकायसँग बृहद छलफल गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छलफलमा सहभागी डा. जीवन क्षेत्रीले जानकारी दिए ।
उनले भने, “चिकित्सक संघले भोलि सम्बन्धित संस्था र निकायसँग छलफल गर्ने भनेको छ, त्यसपछि उहाँहरुले आन्दोलनका थप कार्यक्रमहरु तय गर्ने भन्नुभएको छ ।”
उनले चिकित्सक संघको शनिवारको छलफलपछि आफूहरु पनि कसरी अघि बढ्ने भन्ने निर्णय गर्ने बताएका छन् ।
बैठकमा चिकित्सक संघले आन्दोलनमा खेलेको भूमिका र अबका आन्दोलनमा संघले निर्वाह गर्ने जिम्मेवारीका बारेमा पनि छलफल भएको थियो ।