काम नगर्ने कर्मचारी साउनदेखि हटाउँछौं –मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई हटाइने बताएका छन्।
आइतबार मन्त्रालयमा आयोजित मन्त्रालय अन्तर्गतको एसएमटी (सिनियर मेनेजमेन्ट टीम) को बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले काम नगर्ने कर्मचारी हटाउने बताएका हुन् । मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको शुरुवातबाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर लाग्ने बताएका हुन्।
मन्त्री भट्टराईले भने ‘‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनबाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाउँछौं त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।’’ कार्यसम्पादन सम्झौता अनुसार नै कर्मचारीलाई कारवाही वा पुरस्कार जे गर्नुपर्ने हो त्यो गर्ने पनि मन्त्री भट्टराईको भनाइ छ।
हरेक १ वर्षमा कक्षा चढेजस्तै आफूहरुको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लेख गर्दै मन्त्री भट्टराई भन्छन्, ‘‘हामीले राम्रो अंकका साथ कक्षा उत्तीर्ण हुनैपर्छ । चालू वर्षमा सम्पन्न हुन बाँकी काम पनि १५ दिन भित्र गर्नुहोला ।’’
बैठकमा मन्त्री भट्टराईले प्रत्येक हप्ता प्रत्येक महाशाखाहरुको कामको रिपाेर्टिङ गरिने पनि उल्लेख गरे । कोभिड–१९ पछि सबै विमानस्थलहरु संचालन गर्ने गरी प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालनका लागि जारी भएको प्रोटोकलको कार्यान्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा\निकाय प्रमुखलाई निर्देशन पनि मन्त्री भट्टराईले दिए।