प्रदेश २ मा २९ संक्रमित थपिए
प्रदेश–२ मा पछिल्लो २४ घण्टामा २९ संक्रमित थपिएका छन्। धनुषा, महोत्तरी तथा पर्सामा २९ संक्रमित थपिएका हुन्।
प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४ जना तथा पर्सा जिल्लामा दुई जनामा संक्रमित पुष्टि भएको हो।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टिनमा १९, २२ र ३५ वर्षका पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।
महोत्तरीको सम्सी नगरपालिकामा १४ वर्षदेखि ३३ वर्षका चार जना पुरुष, औरही नगरपालिकाको क्वारेन्टिनमा एक वर्षकी एक बालिका र एकै वर्षका अर्का एक बालकसहित ३९ देखि ४५ वर्षका १० जना तथा लोहपट्टी नगरपालिकामा २० वर्षदेखि ३८ वर्षसम्मका १० जना पुरुषमा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
पर्साको कामु प्यालेस होटलमा ३२ वर्षका पुरुष तथा ३२ वर्षकी महिलामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। पछिल्लो पटक सङ्क्रमण पुष्टि भएका सहित सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार १९ जना पुगेको छ।