टिप्पणी सोमबार, असार १५, २०७७

'रोटीबेटी' भन्दै इतिहास बङ्ग्याउँदै

हिमालखबर

'रोटीबेटी' भन्दै इतिहास बङ्ग्याउँदै
सन् १९९१ मा बनेर दूरदर्शनबाट प्रसारित टेलिसिरियल ‘चाणक्य’ काे ३७ ‌औं भागमा नेपालका राजा पर्वतराजकाे भूमिकामा देखाइएका पात्र।
वसन्त महर्जन

नेपालसँगको सम्बन्ध दर्शाउन भारतले गर्ने व्यवहार र प्रयोग गर्ने शब्दहरू समानतामा आधारित छैनन् । 'ठूल्दाई' र 'रोटीबेटी'को सम्बन्धमा निरन्तर प्रचारित गर्ने भारतीय सञ्चारमाध्यमको आशय तुलनात्मक रुपमा सानो छिमेकी नेपाललाई दयाका पात्रका रुपमा चित्रित गर्न खोजिरहेको झैं देखिन्छ ।

अलग देश भए पनि नेपाललाई सक्दो आफू आश्रित बनाउने चाहना इतिहासकालदेखि नै पटकपटक प्रकट हुँदै आएको छ । विवादित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा नेपालसँग अनुमति नै नलिइ सार्वजनिक गर्नु भारतकाे यही अभिष्टकाे पछिल्लाे रुप हाे। 

नेपाल भारतको सुरक्षा छातामुनि पहिल्यैदेखि नै थियो भन्ने आशयलाई सन् १९९१ मा बनेर दूरदर्शनबाट प्रसारित टेलिसिरियल ‘चाणक्य’ मा पनि देखाइएको थियो । यसबाट कतिपय भारतिय इतिहास बङ्ग्याउन पहिलेदेखि नै उद्यत् रहेको देखिन्छ।  

प्राचीन नेपालको इतिहासका कतिपय पाटाहरू पटक्कै खुल्दैनन् । यस्तो स्थितिमा मगध साम्राज्यमा मौर्यवंशको शासन शुरू (इ.पू. ३२१) हुनुअघि नन्दवंश कालमा नेपाल मगधको सुरक्षा छातामुनि थियो भन्ने कुरा हठात् टेलिसिरियलमा देखाइनु ताज्जुबको विषय हो तर नेपालका इतिहास अध्येताहरु यस सम्बन्धमा बेखबर पाइयो।

तत्कालीन १६ महाजनपदमध्ये मगध पनि एउटा थियो र अन्य जनपद तथा महाजनपदहरूको अस्तित्व मासेर यसले विशाल साम्राज्य खडा गरेको थियो । उक्त भूक्षेत्रमा नेपाल पर्दैन । वर्तमान भारतले मगधको गौरवलाई आफ्नो आदर्श मान्छ।

इतिहासका कुराहरूलाई वर्तमान अनुकूल तोडमोड गर्नु र निहित स्वार्थका लागि प्रयोग गर्नु अपराध हो । यही भएर इतिहाससम्बन्धी अध्ययन, अनुसन्धान तथा लेखनलाई संवेदनशील कर्म मानिन्छ । प्रमाणित नभएसम्म कुनै पनि कुरालाई इतिहास मानिन्न । 

पर्वतराज प्रसंग

टेलिसिरियल ‘चाणक्य’ का अनुसार, विश्वविजेता बन्न हिंडेका यवन सम्राट अलेक्जेन्डर सिकन्दरलाई फर्कन आचार्य चाणक्यले बाध्य पारिसकेका थिए । मगधलगायत अन्य देशहरू सम्मिलित सिंगो भारतको निर्माण गर्ने सपना बोकेका आचार्य चाणक्यको योजनाअनुसार मगधविरुद्ध मोर्चाबन्दी बनेको थियो र यिनै सन्दर्भहरूसहितको टेलिसिरियलमा तत्कालीन मगध सम्राट धनानन्दको सन्देश लिएर आएका दूत विराट गुप्त भन्छन्–   “सर्वप्रथम नेपाल नरेश, मगध सम्राट धनानन्दको प्रणाम स्वीकार गर्नुहोस् ।

...मगध सम्राट धनानन्दबाट नेपाल नरेश पर्वतराजलाई मगध एवं नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध स्मरण गराउँदै निवेदन गर्नु भन्नुभएको छ, मगध र नेपालको मैत्रीपूर्ण सम्बन्धकै कारण नेपाल आफ्नो स्वतन्त्रता अक्षुण्ण राख्न समर्थ छ । नेपालको राजनीतिक तटस्थताको नीतिका कारण नै परशुराम महापद्मनन्दले नेपालको सीमा मगधको सीमामा विलय गर्नु भएन । नेपालको सीमा आजसम्म आक्रान्ताहरूबाट सुरक्षित हुनाको कारण मगधमा अद्वितीय सामथ्र्यको शासन हुनु हो । तर वर्तमान परिस्थितिमा नेपालले आफ्नो राजनीतिक परम्परा, तटस्थता एवं सहिष्णुताको नीतिलाई उल्लंघन गरी मगधको शत्रुलाई बाटो सरल बनाई मगधको सामरिक सामथ्र्यलाई चुनौती दिएको छ।

उनी भन्दैजान्छन्,

...नेपालमा मगध विरुद्ध भइरहेकोे षड्यन्त्र एवं गतिविधिहरूबाट मगधको सत्ता अनभिज्ञ छैन । मगधको सत्ता कुनै पनि आक्रमणको जवाफ दिन समर्थ छ । तर शान्तिको प्रयासमा आफ्नो परम्परा निर्वाह गर्ने दृष्टिबाट सम्राट धनानन्दबाट निवेदन भएको छ, यदि नेपाल अथवा मगधका शत्रुहरूले नेपालको सीमाबाट मगधको सीमा उल्लंघन भयो भने मगधको सत्ता नेपालसँग पनि शत्रुतापूर्ण व्यवहार नै गरिनेछ। यस स्थितिमा नेपालसँग युद्ध अपरिहार्य हुन्छ । अतः अवाञ्छनीय रक्तपात एवं हिंसा टार्न सम्राट धनानन्दबाट नेपाल नरेशलाई वर्तमान परिस्थितिमा नेपालको आफ्नो भूमिका स्पष्ट गर्न भनिएको छ । यदि नेपाल युद्ध चाहन्छ भने मगध युद्धका लागि तयार छ।” 

प्रत्युत्तरमा नेपाल नरेश भनिएका पर्वतराज भन्छन्–

“दूत ! सम्राट धनानन्दलाई प्रणाम गर्दै भन्नू, नेपाल आफ्नो सुरक्षा आफैं गर्न सक्छ । आजसम्म नेपाल मगध साम्राज्यमा विलय नहुनुको कारण नेपालप्रति मगधको मैत्रीपूर्ण व्यवहार नभएर आत्मरक्षा गर्नमा आत्मनिर्भर भएकाले हो। नेपाललाई मगधसँग युद्ध गर्नु छ भने मगधसँग अनुमति मागेर बस्दैन । सम्राटलाई भन्नू, मगधको राजनीतिक परम्पराको प्रशंसा गरी म आफ्नो शब्दहरूलाई कलुषित गर्न चाहँदिनँ।मगधप्रति नेपालको भूमिका त्यही हुन्छ जुन वर्तमान परिपे्रक्ष्यमा हुनुपर्दछ। सम्राटसँग यत्ति निवेदन अवश्य गर्नू, यदि नेपालको सीमा उनको आफ्नो सामथ्र्यबाट सुरक्षित छैन भने उहाँले आफ्नो सीमा सुरक्षामा उद्यत रहनू । आउँदा दिन कठिन छन्।”

तर, तत्कालीन नेपालका राजा भनिएका ‘पर्वतराज’ नितान्त काल्पनिक हुन् । टेलिसिरियलले जुन वेलाको वर्णन गर्न खोजेको छ, त्यो वेला नेपालका शासक को थिए र यहाँको वस्तुस्थिति कस्तो थियो भन्ने कुरा कतैबाट खुल्दैन।

गौतम बुद्ध (इ.पू. ५६३–४८३) भन्दा अघि नै नेपाल व्यापारिक केन्द्रको रूपमा विकास भइसकेको पाइन्छ । बौद्धग्रन्थ ‘मूलसर्वास्तिवाद–विनयसंग्रह’ अनुसार व्यापारका लागि मगध, श्रावस्ति, वज्जीलगायतका व्यापारीहरूको आउजाउ नेपालमा हुन्थ्यो । तर सो ग्रन्थमा विभिन्न भारतीय राज्यहरूसँग यसको सम्बन्धबारे केही कुरा खुल्दैन।

गौतम बुद्ध (इ.पू. ५६३–४८३) भन्दा अघि नै नेपाल व्यापारिक केन्द्रको रूपमा विकास भइसकेको पाइन्छ । बौद्धग्रन्थ ‘मूलसर्वास्तिवाद–विनयसंग्रह’ अनुसार व्यापारका लागि मगध, श्रावस्ति, वज्जीलगायतका व्यापारीहरूको आउजाउ नेपालमा हुन्थ्यो । तर सो ग्रन्थमा विभिन्न भारतीय राज्यहरूसँग यसको सम्बन्धबारे केही कुरा खुल्दैन।

त्यस वेलाको नेपालमा प्रचलित स्थानीय ‘नेपार’ शब्दलाई तात्कालिक पाटलिपुत्र वा वर्तमान पटना शहरमा ‘नेपाल’ बोलिने गरेको र संस्कृत भाषामा यसै रूपमा ग्रहण गरेपछि अविच्छिन्न रूपमा चलिआएको मत इतिहासकार बाबुराम आचार्यको छ ।

मगधमा मौर्यवंशको शासन स्थापना भएपछि (इ.पू ३२१) आचार्य कौटिल्य तथा विष्णुगुप्त नाम रहेका चाणक्यद्वारा लिखित ‘अर्थशास्त्रम्’ मा पहिलोपल्ट ‘नेपाल’ नाम प्रयोग भएको छ। यस ग्रन्थमा नेपालबाट मगध साम्राज्यको राजधानी पाटलिपुत्र (वर्तमान पटना) शहरमा बिक्री हुने विभिन्न वस्तुहरूको उल्लेख पाइन्छ ।

त्यसाे त मौर्यसम्राट अशोक नेपालको भ्रमणमा आएको, पाटनमा चार बौद्ध स्तूप बनाउन लगाएको, साथमा आएकी छोरी चारुमतिको विवाह नेपाली राजकुमार धर्मपालसँग गराएको, उनै राजकुमारी चारुमतिले चावहिलस्थित चारुमती विहार बनाएको कथा नेपालमा प्रसिद्ध छ तर यो विवरणलाई नेपाल र भारतका कुनै पनि ऐतिहासिक स्रोतले पुष्टि गर्दैन।

अप्रमाणित कथन

प्रसिद्ध व्यक्तिलाई आफ्नो गाउँठाउँसँग जोडेर महत्व बढाउने प्रवृत्ति अन्य प्रसङ्गहरूमा पनि पाइन्छ । अशोकको समयमा पनि नेपालमा कुन राजाको शासन थियो भन्ने कुरा खुल्दैन। अशोकको प्रत्येक गतिविधिको विवरण राख्ने ‘अशोकावदान’ लगायतका ग्रन्थहरू तथा शिलालेखमा पनि नेपाल उपत्यकाको भ्रमणको प्रसंग पाइँदैन । उनको पारिवारिक विवरणमा चारुमति नामको कुनै छोरी नै देखिंदैन । नेपाली लोकोक्तिका रूपमा भारतीय लेखकहरूले उल्लेख गर्ने यो प्रसङ्गलाई भारतीय स्रोत भनी उल्लेख गर्नु नेपाली लेखकहरूको कमजोरी मात्र हो ।

नन्दवंश विरुद्ध आचार्य चाणक्यको अभियान तथा मगधमा मौर्यवंशको स्थापनाका सम्बन्धमा पनि धेरै कुरा स्पष्ट छैन । ऐतिहासिक विषयवस्तुमा बनेका आख्यान तथा टेलिसिरियलहरू एक अर्कोसँग बाझिनुको मूल कारण यही अस्पष्टता र निस्फिक्री काल्पनिक उडान हो । पात्रहरूको जीवनकाल मात्र नभएर एकअर्कासँगको सम्बन्धमा पनि फरक नै चित्रण भएको पाइन्छ ।  

‘चाणक्य’ टेलिसिरियलमा नेपाल स्वतन्त्र राज्यको रूपमा देखिए पनि मगध साम्राज्यको सुरक्षा–छत्रमा रहेको बुझाइ मगध सम्राट धनानन्दको छ । तर नेपालले त्यसलाई अस्वीकार गरी चुनौती दिएको कुरा राखिएको छ । जनविश्वास वा किंवदन्तीका रूपमा पनि नरहेको नेपालको उक्त प्रसङ्ग यस टेलिसिरियलमा राखिनु उदेकलाग्दो पक्ष हो।

‘चाणक्य’ टेलिसिरियलमा नेपाल स्वतन्त्र राज्यको रूपमा देखिए पनि मगध साम्राज्यको सुरक्षा–छत्रमा रहेको बुझाइ मगध सम्राट धनानन्दको छ । तर नेपालले त्यसलाई अस्वीकार गरी चुनौती दिएको कुरा राखिएको छ । जनविश्वास वा किंवदन्तीका रूपमा पनि नरहेको नेपालको उक्त प्रसङ्ग यस टेलिसिरियलमा राखिनु उदेकलाग्दो पक्ष हो।

नौ वर्षको अध्ययन र ‘अर्थशास्त्रम्’ लगायत १८० वटा पुस्तकको अध्ययन पछि डा. चन्द्रप्रकाश द्विवेदीको लेखन तथा निर्देशनमा तयार पारिएको यो ‘चाणक्य’ टेलिसिरियल सन् १९९१ सेप्टेम्बर ८ बाट दूरदर्शनमा प्रसारण शुरू भएको थियो। मूल कथावस्तुमा अनावश्यक ढंगले जोडिएको नेपाल सम्बन्धी यो प्रसङ्ग २३०० वर्षअघिको भए पनि वर्तमान राजनीतिक मनोवृत्तिबाट प्रेरित देखिन्छ।

प्रतिकृया दिनुहोस