समाचार आइतबार, असार १४, २०७७

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, आधाभन्दा बढीलाई स्वास्थ्यलाभ

हिमालखबर

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, आधाभन्दा बढीलाई स्वास्थ्यलाभ

विश्वभर कोरोनाभाइरस संक्रमितको कुल संख्या एक करोडभन्दा माथि पुगेको छ । अहिलेसम्म कोरोनाभाइरसबाट करीब एक करोड ७५ हजार संक्रमित भएका छन्।

तीमध्ये आधाभन्दा बढी निको भएका छन् । अहिलेसम्म करीब ५४ लाख ५४ हजार जना निको भएका छन् । उपचाररत संक्रमितको संख्या करीब ४१ लाख २० हजार छ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । त्यहाँ संक्रमितको कुल संख्या करीब २६ लाख नाघेको छ । तीमध्ये सात लाखभन्दा केही बढी मात्र निको भएका छन्।

विश्वमा दैनिक नयाँ संक्रमित भेटिने दर निरन्तर उकालो लागिरहेको छ । शुक्रबार एकैदिन अहिलेसम्मकै बढी करीब एक लाख ९५ हजार नयाँ संक्रमित फेला परेका छन्।

धेरैजसो संक्रमित अमेरिका, ब्राजिल, रसिया र भारतमा फेला परेका हुन् । ब्राजिलमा पनि कुल संक्रमितको संख्या १३ लाख नाघिसकेको छ । त्यस्तै रसियामा ६ लाख २७ हजार र भारतमा पाँच लाख २९ हजार संक्रमित छन्।

यसैबीच कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच लाख नाघेको छ । तीमध्ये एक लाख २८ हजार जना अमेरिकीहरुले ज्यान गुमाएका छन् । त्यसपछि ब्राजिलमा ५७ हजार र बेलायतमा ४३ हजारभन्दा बढीले ज्यान गुमाएाक छन्।

पछिल्लो समय मेक्सिको पनि कोरोनाभाइरसको ‘हटस्पट’ भएको छ । त्यहाँ अहिलेसम्म दुई लाखभन्दा माथि संक्रमित भएका छन् भने करीब २६ हजारको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस