केहीबेर बैठकमा बसेर बाहिरिए प्रधानमन्त्री
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा केहीबेर बसेर अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन्।
शनिबारको बैठक चलिरहँदा प्रधानमन्त्री ओली केहीबेर आएका थिए। तर, अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकको अध्यक्षता गरिरहेकाले आफू बाहिरिने जानकारी दिएको एक नेताले बताए। “प्रधानमन्त्रीको अरु पनि काम हुन्छ, यहाँ अर्का अध्यक्षले बैठक चलाइरहनुभएको छ”, प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए।
साढे एघारबाट चलेको बैठकमा प्रधानमन्त्री केहीबेर बसेर निस्किएका छन्। शुक्रबारको बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री ओली शनिबार भने केहीबेरका लागि बैठकमा आएका थिए।
बालुवाटारमै बसिरहेको बैठकमा प्रधानमन्त्री नै अनुपस्थित भएको भन्दै नेताहरुले आपत्ति जनाएका थिए। बैठकमा सीमा समस्या र समाधान विषयमा स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्। शुक्रबार १८ जनाले आफ्नो धारणा राखेपछि बाँकीले आज बोलिरहेका छन्।