थप समाचार शुक्रबार, असार १२, २०७७

‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार–२०७७’ शिक्षक मासिकलाई

हिमालखबर

‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार–२०७७’ शिक्षक मासिकलाई

काठमाडौं विश्वविद्यालय अन्तर्गतको त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रले २०७७ सालको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार’ शिक्षक मासिकलाई दिने घोषणा गरेको छ।

स्वर्गीय त्रैलोक्यनाथ उप्रेती २०१० सालमा गठित पहिलो शिक्षा आयोगमा सदस्य सचिवका रूपमा नेपालको शैक्षिक योजना र विकासको जग निर्माणमा क्रियाशील व्यक्तित्व थिए।

त्यसपछिका वर्षमा उनी त्रिभुवन विश्वविद्यालयको उपकुलपति, युनेस्कोका निम्ति स्थायी प्रतिनिधि र फ्रान्सका लागि नेपाली राजदूत पदमा नियुक्त भएका थिए।

स्वर्गीय उप्रेतीले नेपालको शिक्षामा पुर्‍याएको योगदानको कदरस्वरूप काठमाडौं विश्वविद्यालयले ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा केन्द्र’ स्थापना गरी सञ्चालन गरिरहेको छ।

सो शिक्षा केन्द्रका अध्यक्ष एवं काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्माका अनुसार नेपालको सार्वजनिक शिक्षाको स्तरवृद्धिका निम्ति शिक्षक मासिकले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरी यस वर्षको पुरस्कार दिने निर्णय गरिएको हो । रु.१ लाख नगद र सम्मानपत्र सहितको यो पुरस्कार हरेक दुई–दुई वर्षमा दिने गरिन्छ।

शिक्षकहरूको मनोबल र दक्षता वृद्धि एवं शिक्षा सम्बन्धी पछिल्ला सीप, प्रविधि र चिन्तनहरूमा शिक्षकहरूको पहुँच बढाई सार्वजनिक विद्यालयको शिक्षण–सिकाइमा योगदान गर्ने उद्देश्यले १३ वर्ष देखि नियमित रूपमा प्रकाशित हुँदै आएको शिक्षक मासिक देशभरकै शिक्षाकर्मीहरू माझ लोकप्रिय रहेको छ।

शिक्षक मासिकले शुरूका वर्ष देखि नै पाठक–ग्राहकले तिरेको शुल्कबाट आफ्नो मुख्य खर्च जुटाउँदै आएको छ।

प्रतिकृया दिनुहोस