अर्थ/बजार शुक्रबार, असार १२, २०७७

देशैभर धमाधम धान रोपिंदै, युवाशक्ति गाउँगाउँ पुगेकाले उत्पादन बढ्ने

हिमालखबर

देशैभर धमाधम धान रोपिंदै, युवाशक्ति गाउँगाउँ पुगेकाले उत्पादन बढ्ने
तस्वीर: बिक्रम राई

समयमा नै वर्षा भएकोले बन्दाबन्दीसँगै किसानले जसोतसो बीउको जोहो गरेर धान रोपाइँ थालेका छन् । अब सरकारले आवश्यक रासायनिक मल अभाव हुन नदिने हो भने यो वर्ष धान उत्पादन र रोपाइँको क्षेत्रफल विगतका वर्षहरुको तुलनामा बढ्ने अनुमान कृषि मन्त्रालयको छ।

वर्षातको मौसमसँगै शुरु भएको धान रोपाइँ यो वर्ष १० असारसम्ममा २०.०५ प्रतिशत पुगेको छ । यो रोपाइँ दर अघिल्लो वर्ष २०७५ को सोही अवधिको तुलनामा ८.४१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यतिबेलासम्ममा जम्मा ११.६४ प्रतिशत मात्रै रोपाइँ भएको थियो । धान रोपाइँ शुरु भएको करीब तीन सातामै देशैभर २ लाख ७५ हजार २९ हेक्टरमा रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले बिहीबार यो वर्षको धान रापइँको पहिलो अद्यावधिक तथ्यांक सार्वजनिक गरेको छ । कृषि तथा पशुन्छी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा.हरिबहादुर केसी भन्छन्, ‘‘वर्षातको मौसम शुरु भएसँगै बेलैमा पानी पर्न शुरु भएकाले पनि गत वर्षको तुलनामा यो वर्ष रोपाइँ बढेको हो । यही अनुपातमा रोपाइँ भयो भने यस वर्ष अवश्य पनि रोपाइँको प्रतिशत र क्षेत्रफल विगतका वर्षको तुलनामा केही बढ्ने छ।’’

केसी भन्छन् ‘‘समयमा नै पानी पर्नु र कृषि कार्य शुरु हुनुका साथै बाहिरफेर गएका युवा जनशक्ति गाउँ फर्किएका छन् । जसका कारण गत वर्षको तुलनामा यो वर्ष धेरै क्षेत्रफलमा रोपाइँ हुने अनुमान गर्न सकिन्छ ।’’ उनी भन्छन्, ‘‘सरकारले जग्गा बाँझो राख्न नपाउने नियम बनाएको र कृषिलाई प्रवर्द्धन गरिरहेकाले पनि यस वर्ष धान रोपाइँ विगतका वर्षको तुलनामा उत्साहप्रद रुपले बढ्ने आशा छ।’’

तथ्यांक अनुसार हालसम्म सबैभन्दा बढी रोपाइँ प्रदेश ५ मा (३६.२६ प्रतिशत)भएको छ भने सबैभन्दा कम प्रदेश १ मा (१०.४१ प्रतिशत) मात्रै रोपाइँ भएको छ । प्रदेशअनुसारको रोपाइँमा सुदूरपश्चिममा २१.४६, कर्णालीमा २०.११, वागमतीमा १८.८६, गण्डकीमा १३.२६ र प्रदेश २ मा १५.५३ प्रतिशत भएको उल्लेख छ । यस्तै भौगोलिक अवस्था अनुसार उच्च पहाडमा २६.०७, मध्य पहाडमा २०.०७ र तराईमा १९.७५ प्रतिशत रोपाइँ भएको छ।

बन्दाबन्दीका कारण बीउको जोहो गर्न गाह्रो भएपनि सबै किसानले जसोतसो जुटाउन भने सकेको पनि मन्त्रालयको बुझाइ छ। धान बालीका निम्ति आवश्यक मल र बीउमा पनि अभाव नभएको केसी बताउँछन् । धान बालीका लागि आवश्यक रासायनिक मल (डीएपी) अहिले १४ हजार मेट्रिक टन मौजदात रहेको र आयात पनि भइरहेको केसीको भनाइ छ । युरिया मलको भने केही मात्रा अभाव भएपनि धानबालिका लागि आवश्यक डीएपी यो वर्ष आवश्यक मात्रामा उपलब्ध हुने र यसले धान उत्पादनका साथै क्षेत्रफल बढ्ने बुझाइ कृषि मन्त्रालयको छ।


गत वर्ष देशभर १४ लाख ५८ हजार ९१५ हेक्टरमा रोपाइँ भएको थियो । यस बर्ष यो भन्दा बढी क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान पनि कृषि मन्त्रालयको छ । यस अघि सबैभन्दा बढी क्षेत्रफलमा रोपाइँ भने २०७३ मा (१५ लाख ५२ हजार ४६९ हेक्टरमा) धान रोपाइँ भएको थियो । धान उत्पादनको हिसाबले भने सबैभन्दा बढी २०७५ मा भएको थियो । त्यो वर्ष १४ लाख ९१ हजार ७४४ हेक्टरमा भएको धान रोपाइँबाट ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ।

धान उत्पादन मौसमकै कारण घटीबढी हुने गरेको छ । समयमा नै धान रोपाइँ भएपनि खडेरी नपरेको र प्राकृतिक प्रकोप नभएको वर्ष उत्पादन बढ्छ । यसका साथै मल अभाव नहुने, बीउबिजन समयमा पाइएको दाबी मन्त्रालयका अधिकारीको छ । धान रोपाइँ बढेसँगै सिंचाइ सुविधा पनि बढाउन सकिएको भने विगतको वर्षको तुलनामा यो वर्ष अझै बढाउन सकिने दाबी कृषि मन्त्रालयको छ।

प्रतिकृया दिनुहोस