थप समाचार शुक्रबार, असार १२, २०७७

प्रहरी निरीक्षक नै लागूऔषध कारोबारका नाइके

हिमालखबर

प्रहरी निरीक्षक नै लागूऔषध कारोबारका नाइके
ब्यूरोले नियन्त्रणमा लिएका शाहीसहित अन्य चार जना र बरामद मनोद्दीपक औषधि । तस्वीरः एनसीबी

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले बुधबार काठमाडौंको पेप्सीकोलाबाट लागूऔषध काराेबारमा संलग्न चार कारोबारी पक्राउ गर्‍यो। उनीहरुकै बयानका आधारमा नेपाल प्रहरीका निरीक्षक रुद्रबहादुर शाही बिहीबार पक्राउ परे। प्रारम्भिक अनुसन्धानबाट शाही लागूऔषधका सेवनकर्ताका साथै ओसारपसार र कारोबारमा संलग्न रहेको खुलेको छ।

प्रहरी निरीक्षक शाहीले काठमाडौंमा देशका विभिन्न सीमा नाकाबाट लागूऔषध खरीद गरेर काठमाडौं ल्याउने गरेको ब्यूरोको अनुसन्धानमा खुलेको छ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले शाही लामो समयदेखि काठमाडौंमा औषधिजन्य लागूपदार्थ भित्र्याउने मुख्य भूमिकामा रहेको बताए। उनका अनुसार, शाहीले आफ्नो पदको दुरुपयोग गर्दै पूर्वी नेपालका सर्लाही, बारा र सुनसरीबाट मुख्य कारोबारीले खरीद गरेका लागूऔषध काठमाडौं ल्याएर बिक्रेतालाई दिने गरेका थिए।

“मुख्य लगानीकर्ता अरु नै रहे पनि ओसारपसारमा शाहीको संलग्नता देखिएको छ” एसपी धितालले भने, “उहाँ आफैं पनि नियमित सेवनकर्ता भएको र नाफामा समेत हिस्सेदार रहेको देखिएको छ।”

ब्यूरोले विशेष सूचनाका आधारमा बुधबार पुरानो पेप्सीकोलास्थित सन्तोषकुमार शाहको डेराबाट ठूलो परिमाणमा प्रतिबन्धित मनोद्दीपक औषधिसहित चार जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले शाहको कोठाबाट डाइलेक्स डिसी ६६० बोतल, नाइट्राभेट ११४० ट्याब्लेट, स्पास्मो प्रोक्सीवन क्याप्सुल ३३० थान र नगद रू १ लाखसहित काठमाडौंको नक्साल बस्ने वर्ष ४८ को भुपेश शेरचन, ज्ञानेश्वर बस्ने वर्ष ४८ को अभिनाश थपलिया र काठमाडौं महानगरपालिका–३२ बस्ने वर्ष ३६ को एलिसन बस्नेतलाई पक्राउ गरेको थियो । उनीहरुसँगको प्रारम्भिक बयान र मोबाइलमा बारम्बार देखिएको सम्पर्कपछि प्रहरी निरीक्षक शाही अनुसन्धानमा तानिएका थिए।

ब्यूरोले कारोबारीहरु मार्फत शाहीसँग सम्पर्क गरेर उनलाई लागूऔषध लिएर आउन भनेपछि बिहीबार शाही आलोकनगर मीनभवनमा डाइलेक्स डिसी १०० एमएल लेखिएको बोतल थान ७, नाइट्राभेट ४६ ट्याब्लेट सहित आउँदा नियन्त्रणमा लिएको दाबी गरेको छ । शाही लामो समय सादा पोशाकमा काम गरेका प्रहरी अधिकृत हुन् । उनले अपराध महाशाखा र ट्राफिक महाशाखाको विशेष टोलीको नेतृत्व गरेका थिए।

पछिल्लो समय प्रदेश-२ बाट परिसर ललितपुरमा सरुवा भएका शाहीले आफ्नो सम्पर्क संयन्त्र र शक्तिको दुरुपयोग गर्दै काठमाडौंमा लागूऔषध भित्र्याउन मुख्य भूमिका खेलेका थिए।

प्रहरीले पक्राउ गरेका चार जना विरुद्ध १० दिन र शाही विरुद्ध ९ दिन काठमाडौं जिल्ला अदालतबाट अनुसन्धान म्याद लिएको छ । एसपी धितालले शाहीलाई निलम्बनका लागि प्रहरी प्रधान कार्यालयमा पत्राचार भएको बताए।

प्रतिकृया दिनुहोस