संक्रमित करोड पुग्नै लाग्दा डब्लूएचओले भन्यो– अवस्था झनै नराम्रो हुँदै गयो
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को महामारी झनै नराम्रो हुँदै गएको जनाएको छ। संक्रमित संख्या एक करोड पुग्न लाग्दा डब्लूएचओले यूरोपेली मुलुकहरुको अवस्था सुधार हुँदै गए पनि विश्वव्यापी अवस्था कमजोर भएको बताएको छ।
डब्लूएचओका प्रमुख एड्रोस गेब्रेयसियसले भने, “यूरोपमा सुधार देखियो। तर, विश्वव्यापी अवस्था भने झनै कमजोर बन्दै गएको छ।” महामारीबाट संक्रमित संख्या ९७ लाख १४ हजार नाघेको छ। संक्रमित मध्ये आधा भन्दा बढी अर्थात् ५२ लाख बढी संक्रमित निको भएर घर फर्किएका छन्।
संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख ९१ हजार छ। महामारीबाट अमेरिकामा मात्रै २५ लाख बढीमा संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेमा एक चौथाइ बढी अमेरिकामै छन्। अमेरिकामा एक लाख २६ हजारको मृत्यु भएको छ।
ब्राजिलमा १२ संक्रमित छन् भने ५५ हजारको मृत्यु भएको छ। रुसमा संक्रमित संख्या ६ लाख नाघेको छ। चौथो स्थानमा रहेको भारतमा चार लाख ९१ हजार संक्रमित पुष्टि भएको छ।
नेपाल पनि बढी संक्रमित देखिने मुलुकहरुमा ६५ औं स्थानमा छ। २१५ मध्ये नेपाल बढी प्रभावित हुने मुलुकको ६५ औं स्थानमा रहेको हो। जेठ यता तीव्र दरमा बढिरहेको संक्रमित संख्या नेपालमा एघार हजार १६२ पुगेको छ।
एक लाख ९९ हजार ३७३ जनाको बिहीबारसम्म पीसीआर प्रणालीबाट परीक्षण गरिएको छ। अहिलेसम्म नेपालमा २६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, दुई हजार ६५० जना निको भएर घर फर्किएका छन्। क्वारेन्टिनमा बस्नेको संख्या अझै ७४ हजार रहेकाले संक्रमित अझै बढ्ने संभावना देखिन्छ।