खेलकुद शुक्रबार, असार १२, २०७७

३० वर्षपछि लिभरपुललाई इङ्लिस प्रिमियर लिगको उपाधि

हिमालखबर

३० वर्षपछि लिभरपुललाई इङ्लिस प्रिमियर लिगको उपाधि
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भेला भएका समर्थक । तस्वीरः बीबीसी

बिहीबार राति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा चेल्सी २–१ गोलले विजयी भयो । नतिजासँगै दोस्रो स्थानको सिटी ६३ अंकमा नै रोकिँदा लिभरपुल सात खेलअघि नै इङ्लिस प्रिमिर लिग (ईपीएल) च्याम्पियन भयो ।

बिहीबार राति चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सी र म्यानचेस्टर सिटीबीच खेल शुरु हुँदा सम्भवत लिभरपुलका खेलाडी, अफिसियल र फ्यानको आँखा टीभी स्क्रिनमै टाँसिएको हुनुपर्छ । किनभने यो खेलको नतिजाले ३० वर्षपछि लिभरपुललाई इङ्लिस प्रिमिर लिग (ईपीएल) च्याम्पियन बनाउन सक्थ्यो ।

नतिजा लिभरपुलकै पक्षमा आयो । खेल खाली रंगशालामा खेलाइएको कारण न त्यहाँ चेल्सी र सिटीका समर्थक थिए, न त लिभरपुलकै । तर नतिजासँगै लिभरपुलमा विजयी झन्डा फहराइए । फ्यानहरु लिभरपुलको घरेलु मैदान एनफिल्डमा जम्मा भएर खुसियाली मनाए ।

चेल्सीका लागि क्रिश्चियन पुलिसिक र विलियनले गोल गरे । सिटीका लागि केभिन डि ब्रुयनले गोल गरे । खेल १–१ को बरारीमा हुँदा दोस्रो हाफमा सिटीका फर्मान्डिन्होले रातो कार्ड पाए । लगत्तै पेनाल्टीमार्फत विलियनले गोल गर्दा खेलमा चेल्सी विजयी भयो भने लिभरपुलले लिग उपाधि जित्यो । सात खेल बाँकी छँदा लिभरपुल र सिटीको अंक दूरी २३ मा पुगेको छ र अब सबै खेल जिते पनि सिटीले लिभरपुललाई भेट्न सक्ने छैन ।

गत वर्ष पनि जर्गन क्लोप्सको क्लब ‘द रेड’ उपाधि नजिक पुगेको थियो । गत सिजन लिभरपुलले ९७ अंक प्राप्त गरेको थियो । तर पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीसँग एक अंकले पछि प¥यो । सिटी उपाधि रक्षा गर्न सफल भएको थियो ।

यो वर्ष भने अंकतालिकामा लिभरपुलको प्रतिश्पर्धामा कुनै क्लब पनि देखिएनन् । त्यहीकारण लिभरपुलले सात खेल अघि नै उपाधि आफ्नो पोल्टामा पा¥यो ।

१२८ वर्ष पुरानो क्लब लिभरपुलले यो सिजन अहिलेसम्म खेलेका ३१ खेलमध्ये २८ वटामा जित हासिल गरेको छ भने एउटामा हारेको छ । दुई वटा बराबरीमा सकिएका छन् । लिभरपुल वाटफोर्डसँग अप्रत्यासित रुपमा ३–० गोल अन्तरले हारेको थियो । जबकि वाटफोर्ड रेलिगेसनभन्दा दुई स्थान मात्र माथि १६औँ नम्बरमा छ ।

त्यस्तै लिभरपुलले म्यानेचेस्टर युनाइटेड र एभर्टनसँग एक\एक खेल बराबरी खेलेको थियो । यसपटक लिभरपुलले म्यान्चेस्टर सिटी, आर्सनल, चेल्सी जस्ता शक्तिशाली क्लबसँग अहिलेसम्म कुनै पनि खेल हारेको छैन । लिभरपुल घरेलु मैदानमा निकै सशक्त खेल खेल्यो । एनफिल्डमा भएका सबै १६ खेलमा जित हासिल ग¥यो ।

सन् १९९२ मा इङ्लिस प्रिमियर लिगको पुनर्संरचना गरिए यता लिभरपुलले उपाधि जित्न सकेको थिएन । तर त्यसअघि सन् १८८९ मा लिग शुरु भए यता भने लिभरपुलले १८ पटक उपाधि जितिसकेको छ र धेरै उपाधि जित्नेको सूचीमा दोस्रो स्थानमा छ ।

सन् १९८० को दशकमा लिभरपुुल बेलायतको सबैभन्दा शक्तिशाली क्लब थियो । उक्त १० वर्षमा ६ पटक लिभरपुल लिग च्याम्पियन भएको थियो । अन्तिमपटक सर केन्नी डग्लिशको नेतृत्वमा सन् १९८९/९० सिजनको उपाधि जितेको थियो ।

प्रतिकृया दिनुहोस