अब यसरी हुँदैछ आन्तरिक उडान (भिडियाे सहित)
आन्तरिक उडान खुलेपछि विमानसम्म यात्रु कसरी पुग्ने, सुरक्षा जाँच, टिकेट चेक, बोर्डिङ पास वितरण, जहाजसम्म सुरक्षित तवरले यात्रु लाने र सुरक्षित तवरबाटै उडान गराएर यात्रुलाई विमानबाट बाहिर ल्याउनेसम्मको बुद्धले डेमो गराएको हो।
आन्तरिक वायुसेवा सञ्चालन खुला गर्ने तयारीसँगै बुद्ध एयरले अब बन्दाबन्दीपछि शुरु गर्ने उडानको पूर्वअभ्यास गराएको छ । बुद्ध एयरले बिहीबार दुईवटा विराटनगर र एक पोखराको उडानका लागि उक्त उडान अभ्यास गराएको हो । बुद्धले अब बन्दाबन्दीपछि खुला हुने उडान सञ्चालन एक घण्टामा तीन वटा गर्ने गरी तीनवटा वायुसेवाबाट १३७ यात्रुसहितको पूर्वअभ्यास गराएको हो।
यस्तो अभ्यासमा पोखराका लागि एटीआर ७२ मा ६० जना, विराटनगरका लागि एक एटीआरमा ६० र एक विचक्राफ्टमा १७ जना राखेर उडानको अभ्यास गराएको हो । यस्तो अभ्यास यात्रुलाई टिकट काटेर सबै प्रक्रियाको पालना गर्दै जहाजमा यात्रु बस्ने र उडानका लागि हुने अन्तिम तयारी सम्मको छ । जहाज उड्ने बेलामा र अवतरण गर्दा एयर होस्टेजले गर्ने घोषणासम्मको अभ्यास भयो । तर, जहाज भने उडाइएको होइन।
यस्तो उडानमा जसरी सामान्य अवस्थामा यात्रु जान्छन् त्यसैगरी गरिएको छ । तर, अब हुने उडानमा सामाजिक दूरी कायम गर्ने, सुरक्षा मापदण्ड पालना गरेर गरिने सहितका अभ्यास भएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए।
उनले भने ‘‘संक्रमित यात्रु आएको अवस्थामा अन्य यात्रु तथा कर्मचारीलाई नफैलिओस् भन्ने आधारमा नै उडानको अभ्यास भएको हो ।’’ अब नियमित उडान शुरु हुँदा सुरक्षा मापदण्ड कार्यान्वयन गर्न र यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउने विषयमा गुनासोरहित ढंगबाट सेवा दिने उद्देश्यले पूर्वअभ्यास भएको बस्नेतले बताउँछन्।
बुद्ध एयरले यस्तो अभ्यास अब उडान शुरु हुने समयसम्मका लागि उपयुक्त समय र तालिका मिलाएर गरिने जानकारी पनि दिएको छ । कोभिड–१९ को संक्रमण फैलनुअगाडि बुद्ध एयरका १३ वटा जहाजमध्येबाट एक घण्टामा चार वटा उडान गर्ने गरेको थियो भने अब भने सुरक्षा मापदण्ड कायम गर्दै प्रशस्त समय लिने र सामाजिक दूरी कायम राखेर उडान गर्नुपर्ने भएकाले एक घण्टामा तीन वटा मात्रै गर्ने गरी तयारी भएको बुद्धले जानकारी दिएको छ।
यात्रु विमानस्थल प्रवेश गर्दा अनिवार्य मास्क प्रयोग गरेर आउनुपर्ने, कम्मल आफैंले बोक्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग अनिवार्य छ । त्यो बाहेक बुद्ध एयरले आफैंले पनि मास्क निःशुल्क दिने र प्रत्येक यात्रुलाई मुख ढाक्न फेस सिल्ड दिने छ । फेस सिल्ड एउटाकै रु.५५ पर्ने भएको यसको मूल्य भने टिकेटमा समावेश हुने जानकारी बुद्धले दिएको छ ।
त्यो बाहेक सुरक्षा मापण्डका लागि यात्रु विवरण तथा हरेक यात्रुले आफू निरोगी रहेको र संक्रमणको जोखिम नभएको घोषणा गर्नुपर्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले नै गरेको छ । प्राधिकरणले तयार पारेको सुरक्षा मापदण्ड अनुसार नै यात्रुलाई ज्वरो आएको, खोकी लागेको र संक्रमणको सम्पर्कमा रहेको १४ दिन नभएको अवस्थामा भने उडान गर्न नपाउने उल्लेख छ ।
यात्रु सुरक्षाका लागि अत्यावश्यक बाहेक जहाजमा पानी वितरण गर्ने र शौचालको प्रयोग रोक लगाएको छ । यात्रुलाई जहाजमा वितरण गर्ने चक्लेट तथा पानीसहितका व्यवस्थालाई जोखिम न्यूनीकरण गर्ने उद्देश्यले हटाउने भएको छ । जहाजबाट यात्रु अवतरण गरेपछि पनि अनिवार्य रुपमा डिसइन्फेक्सन स्प्रे छर्कने बुद्धले जानकारी दिएको छ।