चिनियाँ सहायता सबैभन्दा अपारदर्शी, एडीबीको सबैभन्दा पारदर्शी
वैदेशिक सहायताहरुमध्ये एशियाली विकास ब्याङ्क (एडीबी) को सहायता सबैभन्दा पारदर्शी रहेको देखिएको छ । ‘एड ट्रान्सपरेन्सी इन्डेक्स २०२०’ का अनुसार, विकास सहायता दिने अन्तर्राष्ट्रिय संस्थामध्ये एडीबीको ‘शोभरेन पोर्टफोलियो’ सबैभन्दा पारदर्शी ठहरिएको हो । सहायता रकमको पारदर्शिताका दृष्टिले ‘अति राम्रो’ श्रेणीमा परेको एडीबीले १०० मध्ये ९८ अंक प्राप्त गरेको छ।
त्यस्तै, बहुपक्षीय ऋणदाता विश्व ब्याङ्क अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था ९७.१ अंक पाउँदै दोस्रो पारदर्शी दातृ संस्थाको सूचीमा परेको छ । यो सूचीको तेस्रो नम्बरमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) परेको छ । यसले ९६.६ अंक पाएको छ।
नेपालमा अनुदान लिने कि नलिने भनी विवाद हुँदै आएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहायतालाई पनि ‘एड ट्रान्सपरेन्सी इन्डेक्स’ ले पारदर्शिताका दृष्टिले ‘अति राम्रो’ वर्गमा राखेको छ । एमसीसीले ९२.१ अंक पाउँदै दाता संस्थामध्ये सातौं स्थान कायम गरेको छ।
अफ्रिकी विकास ब्याङ्क, अन्तर अमेरिकी विकास ब्याङ्क, संयुक्त राष्ट्रसंघीय बाल कार्यक्रम (यूनिसेफ), द ग्लोबल फण्ड, बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी), क्यानडा–ग्लोबल अफेयर्स र गाभी–द भ्यासिन अलाइन्स गरी ११ संस्थाका सहायता पारदर्शिताका दृष्टिले ‘अति राम्रो’ वर्गमा परेका छन्।
अमेरिकाकै अर्को विकास सहायता दिने संस्था यूएसएआईडी पारदर्शिताका हिसाबले मध्यम मात्रै देखिएको छ । ‘राम्रो’ श्रेणीमा परेको यो सहायताले १०० मध्ये ७६.७ अंक मात्रै पाएको छ । यूएसएआईडीका कतिपय कार्यक्रम पारदर्शी नभएको भन्दै नेपालमा समेत आलोचना हुने गर्छ।
अमेरिकाको रक्षा मन्त्रालय अन्तर्गतको सहायताको पारदर्शिता कमजोर रहेको इण्डेक्सले देखाएको छ । रक्षा सहायताले १०० मध्ये ३९.८ अंक पाउँदै अपारदर्शी सूचीमा परेको छ।
त्यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, टर्की र चीन गरी चार देशका अन्तर्राष्ट्रिय विकासमा सहयोग गर्ने संस्था भने अति अपारदर्शी रहेको इण्डेक्सले जनाएको छ ।
यूएईको वैदेशिक मामिला मन्त्रालय अन्तर्गतको सहायताले १०० मध्ये १७.७ अंक मात्रै पाएको छ । जापानको वैदेशिक मामिला अन्तर्गत गर्ने अन्तर्राष्ट्रिय सहायताले पनि १६.३ अंक पाएको छ । चीनको वाणिज्य मन्त्रालयले गर्ने वैदेशिक सहायता पारदर्शिताका हिसाबले सबैभन्दा कमजोर रहेको इण्डेक्समा उल्लेख छ । १०० मध्ये यसले १.२ अंक मात्र पाउँदै सूचीको पुछारमा परेको छ।
युरोपियन कमिसन र बेलायती सरकार अन्तर्गतको यूके एडको सहयोगमा प्रकाशित इण्डेक्सले अन्तर्राष्ट्रिय वैदेशिक सहायता दिने ४७ संस्थाको सहायताको पारदर्शिताका विभिन्न सूचकका आधारमा मूल्यांकन गरेर रिपोर्ट प्रकाशित गरेको हो । ३५ फरक सूचकका आधारमा वैदेशिक सहायतालाई मूल्यांकन गरिएको प्रतिवेदनमा उल्लेख छ।
यी ३५ सूचकलाई वित्त र बजेट, विकास तथ्यांकमा साझेदारी, संस्थाको योजना र प्रतिबद्धता, परियोजनाको विशेषता तथा परिणाम गरी पाँच समूहमा बाँडेर मूल्यांकन गरिएको थियो।