लागूऔषध कारोबारीले पोलेपछि प्रहरी निरीक्षक पक्राउ
लागू औषध नियन्त्रण ब्यूरोले प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई नियन्त्रणमा लिएको छ । शाही महानगरीय प्रहरी परिसर ललितपुरबाट सादा पोशाकमा खटिने प्रहरी अधिकृत हुन्।
ब्यूरोले बुधबार काठमाडौंका विभिन्न स्थानमा चलाएको विशेष कारबाहीमा पक्राउ परेका कारोबारीले प्रहरी निरीक्षक शाहीको नाम पोलेपछि सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एसपी प्रवीण धितालले हिमालखबरलाई बताए।
ब्यूरोले काठमाडौंको पेप्सीकोलामा शुरु भएको कारबाहीमा करीब सातसय प्रतिबन्धित लागू औषध कोरेक्स बरामद गरेको थियो । कारोबारीहरुले लागू औषध काठमाडौं भित्र्याउन शाही समेत संलग्न रहेको बताएपछि उनी अनुसन्धानमा तानिएका हुन्।
शाही ललितपुरअघि बारामा कार्यरत थिए । शाही विरुद्ध यसअघि पनि मोटरसाइकल चोरीमा संलग्न गिरोहले अवैध असुली गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा गरेका थिए । उजुरी शाखामा यसअघि शाहीले लागू्औषध सेवन गर्ने गरेको उजुरी परेको थियो।