कलहको कारण बन्यो सरिनाको जागिर, श्रीमानले गरे हत्या
टोखा नगरपालिका–३ बानियाटार हाइट बस्ने कृष्णहरि बानियाँलाई पछिल्लो समय श्रीमती काममा गएको मन परेको थिएन।
श्रीमती सरिना खड्का बानियाँ सहकारीमा काम गर्छिन् । उनी भने व्यापार गर्थे।
यही विषयमा घरमा झैं–झगडा भइरहेको थियो । बुधबार राति भने झगडाले उग्ररुप लियो।
मादक पदार्थ सेवन गरेका कृष्णहरिले आवेशमा सरिनालाई चक्कु प्रहार गरे । सरिनाकाे घटनास्थलमै मृत्यु भयो।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले प्रहरी पुग्दा सरिनाको मृत्यु भइसकेको बताए । हत्याको कारण परिवारिक कलह भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए।
“पक्राउ परेका आरोपी यतिबेला केही बताउन सक्ने अवस्थामा छैनन्,” डीएसपी खड्काले भने, “ हामी अनुसन्धान गरिरहेका छौं।”
प्रहरीका अनुसार सरिनाकाे उमेर ४० वर्ष थियाे कृष्णहरि भने ४३ वर्षका । मागी विवाह भएका उनीहरुका १२ वर्षका छोरा छन्।