संक्रमितको 'ट्राभल हिस्ट्री' नेदेखिदा समस्या
सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना संक्रमण पुष्टि भयो। आकस्मिक कक्षमा उपचारत तीन बिरामीमा संक्रमण देखिएपछि आइसोलेनमा राखिएका ४४ मध्ये पाँच स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो।
यति ठूलो संख्यामा स्वास्थ्यकर्मी आइसोलेसनमा राख्नुपर्ने र संक्रमण फैलिनुमा भने अस्पतालमा उपचारत तीन जना बिरामीमा संक्रमण पुष्टि हुनु हो। यी बिरामीको उपचारका क्रममा अस्पतालले आवश्यक सावधानी नअपनाउँदा यति ठूलो संख्यामा स्वास्थ्यकर्मी आइसोलेसनमा राखियो भने एकै पटक पाँच स्वास्थ्यकर्मी संक्रमित बने।
अस्पतालले ती बिरामीहरु अन्य मुलुकबाट नआएका र संक्रमितको सम्पर्कमा समेत नरहेको जानकारीको आधारमा सावधानी अपनाएको थिएन।
अहिलेसम्म कतै ट्राभल हिस्ट्री पत्ता लाग्न नसकेका अर्का सुर्खेतकै एक विद्यार्थीमा पनि संक्रमण पुष्टि भएको थियो। अस्पताल भर्ना भएका ती बिद्यार्थीको कोरोना रिपोर्ट पोजिटिभ आयो। ती संक्रमित विद्यार्थी दुई साता अस्पताल बसेर घर फर्किएका छन्।
डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको सङक्रमणबाट मृत्यु भयो। उनी पनि भारत लगायत अन्य मुलुकबाट आएका अथवा संक्रमितको सम्पर्कमा गएको भन्ने कुनै ट्राभल हिस्ट्री पत्ता लागेको छैन।
आइतबार मात्रै पेट दुखेको भन्दै प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएका दैलेखकै एक बालकमा पनि संक्रमण पुष्टि भएको छ। एपेन्डिसाइडको शल्यक्रिया गरिएका ती बालकको भने बुवा भारतबाट फर्किएका थिए। उनकै कारण आमाछोरा सहित तीनै जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश अस्पताल सुर्खेतका चिकित्सक नवराज केसी रोकथामका लागि आवश्यक सावधानी नअपनाउँदा संक्रमणको जोखिम बढेको बताउँछन्। १४ दिन क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण बिनै घर पठाउँदा पनि थपिएका संक्रमितको ट्राभल हिस्ट्री देखिन मुस्किल परेको केसी बताउँछन्।
१ जेठबाट भारतमा रेल तथा बस सेवा सञ्चालन भएपछि ठूलो संख्यामा भारतबाट नेपाली घर फर्किएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, जेठ महीनामा मात्रै डेढ लाख बढी नेपाली भारतबाट फर्किएका छन्। यस मध्ये ४१ हजार कर्णाली प्रदेश फर्किएको प्रदेश सरकारले जनाएको छ।
शुरुमा तिनै भारतबाट फर्किएकाहरुमा देखिएको संक्रमण अहिले समुदाय स्तरमा देखिन थालेको छ। प्रदेश अस्पतालका कोभिड–१९ फोकल पर्सन चिकित्सक केएन पौडेलले अन्य बिरामीमा पनि कोरोना संक्रमण देखिन थालेपछि उपचारमा समस्या आएको बताउँछन्।
“कोरोना भाइरसको थप जोखिम निम्तिएको छ। अहिले समुदायमा संक्रमण शुरुवाती चरणमा छ। कसैलाई पनि लक्षण देखिएको छैन, पहिलेको तुलनामा अझ धेरै सावधानी अपनाउनुपर्ने बेला आएको छ”, उनी भन्छन्।
कर्णालीमा अहिलेसम्म आशंकित बाहेकको परीक्षण गरिएको छैन। तर, प्रदेश स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिर्खबहादुर शाही भने समुदायमा केसको आधारमा ‘कन्ट्रयाक ट्रेसिङ’ गर्ने काम भइरहेको बताउँछन्।
कर्णाली प्रदेशमा बुधबारसम्म एक हजार ३३५ जनामा कोरोना संक्रमण देखिएको छ भने पाँच जनाको मृत्यु भइसकेको छ। ५६८ जना संक्रमित डिस्चार्ज भएका छन्। –राससको सहयोगमा