बाजुरामा भेटियो दुर्लभ वन्यजन्तुका आखेटोपहारको गोदाम
प्रहरीले बाजुराको त्रिवेणी नगरपालिकास्थित एउटा घरमा दुर्लभ वन्यजन्तुका छाला, अंग र हड्डीहरु संकलन हुने गरेको सूचना पाएको थियो। जिल्ला प्रहरी कार्यालय बाजुराले सूचना अनुसार, घरमा निगरानी गरिरहेको थियो। प्रहरीको सूचनामा केही थान चितुवाको छाला घरमा लुकाएको भन्ने थियो।
बाजुरा प्रहरी प्रमुख डीएसपी टंकप्रसाद भट्टराईको नेतृत्वको टोलीले सोमबार प्रहरी निगरानीमा रहेको लालबहादुर बुढाको घरमा छापा मार्याे। प्रहरी पुग्नुअघि नै घरधनी बुढा फरार थिए। तर, प्रहरीले उनको घरमा लुकाएर राखेका दुर्लभ वन्यजन्तुका आखेटोपहारको गोदाम फेला पारेको छ।
डीएसपी भट्टराईका अनुसार, बुढाको घर बाजुरा र आसपासका जिल्लामा चोरीशिकारी गरिएका दुर्लभ वन्यजन्तुहरुको छाला, अंग र हड्डी संकलन केन्द्र थियो। बुढाले चोरीशिकारी भएका वन्यजन्तुका आखेटोपहार खरीद गर्ने र एकमुष्ट काठमाडौंमा तस्करी गर्ने गरेका थिए।
प्रहरीले बुढाको घरबाट चितुवा, रतुवा र घोरल प्रत्येकको दुई थान छाला, विभिन्न वन्यजन्तुका हड्डी पाँच किलो, भालुको पित्त २०० ग्राम, हरिणका खुट्टा र सिङ तथा चितुवाको टाउको बरामद गरेको छ ।
“जिल्लामा चितुवाको संख्या बढी रहेकाे छ, यसकाे चाेरीशिकारी समेत धेरै हुने रहेछ” डीएसपी भट्टराईले भने, “हामी घरधनीको खोजीमा छौं, त्यसपछि थप कुरा खुल्नेछ।”
प्रहरीले घटनामा संलग्न स्थानीय खगेन्द्र खड्का, रामबहादुर ऐडी र बिर्खबहादुर साउदलाई पक्राउ गरेर बरामद सामग्रीसहित जिल्ला वन कार्यालयलाई बुझाएको छ।