कोभिड-१९ विहीबार, असार ११, २०७७

'राति डर लाग्छ, दिनमा सुत्छु'

हिमालखबर

'राति डर  लाग्छ, दिनमा सुत्छु'

मेराे नाम अप्सरा घर्ती हाे । घर दाङ जिल्लाको घोराही उप–महानगरपालिका–१८ मसिनामा पर्छ । म अहिले १८ नम्बर वडाकै श्री माध्यमिक विद्यालय, रझेनामा बनाइएको क्वारेन्टिन केन्द्रमा बस्दै आएकी छु । म यहाँ बसेको २५ दिन भयो । पीसीआर परीक्षणका लागि मेरो स्वाब लगिसके पनि रिपोर्ट अझै आइपुगेको छैन।

अहिले यो क्वारेन्टिन केन्द्रमा ६० जना बस्दै आएका छौं । यीमध्ये एक जना सानी नानीसहित महिलाहरू जम्मा आठ जना छौं । म बस्ने कोठामा दुई परिवारका अन्य पाँच जनालाई पनि राखिएको छ । ६० जना बस्ने ठाउँमा जम्मा तीन वटा ट्वाइलेट बाथरूम छ। पालो कुर्नुपर्छ।

आफ्नै ठाउँ भए पनि घरको जस्तो सजिलो बसाइँ क्वारेन्टिनमा नहुने रहेछ । कपडा फेर्न, नुहाउन र प्याड फेर्न हामी महिलाहरूलाई गाह्रो छ । कपडा फेर्नुपर्दा, नुहाउँदा वा प्याड बदल्नुपर्दा हामीले एक जनालाई ढोकामा हेर्न लगाउने गरेका छौं।

अरूको त थाहा छैन, म भने राति ढुक्कसँग पूरै निद्रा सुतेकै हुदिनँ । आँखा मात्रै बन्द हुन्छन् । किनकि यहाँ कसको के भर हुन्छ र? त्यहीमाथि कैलालीमा त्यस्तो नराम्रो घटना भयो । त्यसले पनि मलाई डर लागेको हो । बरु म दिनमा सुत्छु।

घरमा मेरा दुई छोराछोरी छन् । विगतमा विदेश जाने-आउने गरेका श्रीमान् अहिले भने घरमा नै हुनुहुन्छ । म पनि घरसल्लाह गरी डेढ लाख जति खर्च गरेर  दुबई गएकी थिएँ । कम्पनीमा काम पनि राम्रै थियो । तर, गएको चार महीना नपुग्दै कोरोनाभाइरसको महामारी फैलियो । त्यसपछि कम्पनीले कम्पनी चल्न सक्ने अवस्था नभएकाले तलब दिन नसक्ने घोषणा गर्‍यो।

त्यसपछि कम्पनीमा कार्यरत हामी नेपालीहरुले मरे पनि आफ्नै माटोमा मर्ने सल्लाह गरेर नेपाल फर्किने निर्णय गर्‍यौं । मसँग त फर्किनलाई टिकट काट्ने पैसा नै थिएन । बाग्लुङको एक जना दिदीले सापटीको रूपमा ४० हजारको टिकट काट्दिनुभयो।

९ चैतमा काठमाडौं आएँ । तर, दाङ आउने बसहरू सबै प्याक भएर आउन पाइएन। ११ चैतबाट लकडाउन शुरु भएपछि केही समय काठमाडौंमै बसें । पछि आफ्नै गाउँका दाइहरू पास मिलाएर दाङ आउने थाहा भएपछि उहाँहरूसँगै म पनि १६ जेठमा दाङ आएकी हुँ।

कमाउन भनेर विदेश गएको मान्छे, टिकट काट्ने पैसा पनि सापट गरेर फर्कनुपर्‍यो । त्यहीमाथि कतै कोरोनाभाइरस पो ल्याए कि भनेर आजसम्म क्वारेन्टिनमै बस्नुपरेको छ।

क्वारेन्टिनमा सकेसम्म सुरक्षित हुने कोशिश गरिरहेको हुन्छु । यहाँ पनि मैले मास्क, पन्जा र स्यानिटाइजरको प्रयोग गरेकै हुन्छु । वडाले पनि त्यो व्यवस्था त मिलाइदिएको छ । स्वास्थ्यकर्मीहरू समय समयमा आउनुहुन्छ । वडा अध्यक्ष पनि आउनुहुन्छ । के कस्तो छ सबैलाई सोध्नु पनि हुन्छ । तर के गर्नु, समय यस्तै कष्टको छ।

वडा अध्यक्षज्यूले ‘रिपोर्ट आउन अझै समय लाग्छ’ भन्नुभएको छ । रिपोर्ट सामान्य आयो भने त घरै जाउँला । पोजेटिभ भयो भने के गर्ने होला भन्ने डर लाग्छ । त्यति मात्रै होइन, यहाँबाट निस्किएपछि गुजारा चलाउन के काम गर्ने भन्ने पनि सोचिरहेको छु । तर, छोराछोरी अनि श्रीमान् र आमाबुवालाई सम्झिन्छु र मुटु दरिलो बनाउँछु।

कुराकानी मिति: २०७७ असार ९ गते

याे पनि पढ्नुहाेस्– 

'क्वारेन्टिनमा ममाथि जबर्जस्ती गर्नेहरुले उन्मुक्ति नपाऊन्'

‘ट्याक्सी चलाएरै गुजारा गर्ने म जस्तालाई गाह्रो भएकाे छ’

‘शल्यक्रियाका लागि रगत अभाव हुन थालेको छ’

'महिलालाई क्वारेन्टिनमा राखेर काम लगाउँदा ठग्छन् भन्नेहरुकाे कमी थिएन'

‘स्वास्थ्यसम्बन्धी प्राविधिक कुरामा हाम्रो देश धेरै पछाडि छ’

‘भान्सामा तरकारी कटौती गरेकी छु’

‘लाश उठाउने मान्छे भएनन् भनेर फोन आयो !’

'रगत अभावमा अपरेशन रोक्नु पर्‍यो'

'हाम्रो पेशा नै अरुको सेवा गर्नु र मानवता जोगाउनु हो'

'डाक्टर, नर्सलाई संक्रमणबाट बचाउने  पिपिई सिलाउन पाउँदा दङ्ग परें'

'दिनभरि क्वारेन्टिनमा बस्ने राति घर जाने गर्छन्'


कथा किन ?

अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तिमा छ । संसारभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ८५ हजार नाघिसकेकाे छ। संक्रमण नियन्त्रणका लागि हामीकहाँ पनि सरकारले अढाइ महिना बन्दाबन्दी गरी हाल केही खुकुलाे बनाएकाे छ।

विपद् सबैका लागि उस्तै हो। तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ। हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ। यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसँग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिश हो, कथा कोरोना। २६ चैतदेखि कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा हिमालखबर पनि जोडिएको छ।

मान्छेको भोगाइ आफैमा सबैभन्दा बलियो साहित्य पनि हो। भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन्। एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ती कथाहरुले हामीमा आँट र साहस भर्छन्। अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं।

संयोजक, कथा कोरोना टीम
@KathaCorona

सम्पादक
himalkhabar.com
@himal_khabar

प्रतिकृया दिनुहोस