समाचार विहीबार, असार ११, २०७७

बेलायतमा मान्छेलाई कोरोनाभाइरसको खोप परीक्षण शुरु

हिमालखबर

बेलायतमा मान्छेलाई कोरोनाभाइरसको खोप परीक्षण शुरु
खोपको परीक्षण गरिएकी पहिलो स्वयंसेवक, क्याथी । तस्वीरः बीबीसी

बेलायतमा कोरोनाभाइरसको खोप मान्छेमा परीक्षण गर्न थालिएको छ । आउँदो सातासम्ममा ३०० स्वयंसेवकहरुले यो खोप लगाउने छन् ।

बेलायतको इम्पेरियल कलेजका प्राध्यापक रोबिन शाटोकको नेतृत्वमा परीक्षण थालिएको हो । यसअघि जनावरमा गरिएको यो खोपको परीक्षण सफल भइसकेको छ । खोप लगाएपछि जनावरमा रोग प्रतिरोधी क्षमता बढेको थियो ।

अक्सफोर्ड युनिभर्सिटीका बिज्ञहरुले खोपको मान्छेमाथिको परीक्षण सुरु गरिसकेका छन् । यो खोप लगाउने पहिलो स्वयंसेवक फाइनान्समा काम गर्ने ३९ वर्षीया काथी हुन् । उनले आफू भाइरसविरुद्धको लडाइमा सहभागी हुन थाहेको कारण खोप परीक्षणमा पहिलो व्यक्ति हुन मञ्जुर भएको बताएकी छिन्।

पहिलो चरणको परीक्षणपछि यो खोपको दोस्रो चरणको परीक्षण आगामी अक्टोबरबाट शुरु हुने जनाइएको छ । दोस्रो चरणमा छ हजार जनामा परीक्षण गरिने छ । सबै परीक्षण सफल भए सन् २०२१ को शुरुवातबाट खोप बेलायत र अन्य देशका लागि समेत उपलब्ध हुने जनाइएको छ।

अहिले संसारभरि १२० ठाउँमा कोरोनाभाइरसको खोप बनाउने प्रयास भइरहेको छ । १३ ठाउँमा भने ‘क्लिनिकल’ परीक्षणमा पुगिसकेको छ । १३ स्थानमध्ये चीनले पाँच, अमेरिकाले तीन र बेलायतले दुई ठाउँमा क्लिनिकल परीक्षण गरिरहेका छन् । त्यसबाहेक अष्ट्रेलिया, रुस र जर्मनीमा एक एक ठाउँमा परीक्षण भइरहेको छ।

प्रतिकृया दिनुहोस