संविधान संशोधन गर्न दलहरु एक ठाउँ उभिएकोमा राष्ट्रपतिद्वारा प्रशंसा
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरी संविधान संशोधन गर्न दलहरुबीच देखिएको राष्ट्रिय एकताले आफू खुशी भएको बताएकी छन्।
बुधबार साँझ राष्ट्रपति भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री लगायतलाई शितल निवास बोलाएकी थिइन्।
विशिष्ट व्यक्तिहरुलाई शितल निवास बोलाएर राष्ट्रपति भण्डारीले अतिक्रमित भूमि नयाँ नक्सामा समावेश गरी संविधानमा निशान छाप कायम गर्न देखिएको अभूतपूर्व राष्ट्रिय एकता सधैं कायम हुनुपर्ने बताएकी थिइन्।
राष्ट्रपतिले कोभिड–१९ को महामारी विरुद्धको प्रतिकार्यमा राष्ट्रिय एकता प्रदर्शित भएकोमा पनि खुशी व्यक्त गरिन्। महामारी विरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई धन्यवाद दिएकी छन्।
विशिष्ट व्यक्तिहरु बीचको भेटघाटमा अन्य समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।