थप समाचार बुधबार, असार १०, २०७७

सार्वजनिक बसमा बम विस्फोट गराएका दुई आरोपी दश वर्षपछि पक्राउ

हिमालखबर

सार्वजनिक बसमा बम विस्फोट गराएका दुई आरोपी दश वर्षपछि पक्राउ

सार्वजनिक बसमा बम विस्फोट गराएकाे आरोपमा रौतहट प्रहरीले करीब दश वर्षमा दुई जनालाई पक्राउ गरेको छ । बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दाका दुई जना फरार अभियुक्तलाई रौतहट प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।

११ चैत २०६७ मा गौरबाट चन्द्रनिगाहपुरतिर जाँदै गरेको ना २ ख ५७२१ नम्बरको यात्रुवाहक बसमा हजमिनिया भन्ने ठाउँमा विस्फोट गराएको आरोपमा प्रहरीले ईशनाथ नगरपालिकाको रामपुरखाप गाउँका शेख गुलाम सरबर र दिलीपकुमार साहलाई पक्राउ गरेको हो ।

१३ जना घाइते भएको बम विस्फोटको घटनामा ७ जना आरोपी रहेकामा दुई जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ भने अझै फरार रहेका पाँच जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बसमा भएको उक्त बम विस्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो।

घटनाका अभियुक्तलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी गराएका छन्।

– सञ्जय मित्र, रौतहट

प्रतिकृया दिनुहोस