धरानमा टेम्पुको सिटमुनि भेटियो कालिजको प्वाँख र कस्तुरीको सिङ
प्रहरीले स्थानीय विष्णुपादुकादेखि धरान जाँदै गरेको टेम्पुको सिटमुनि लुकाएर तस्करी हुँदै गरेको लागूऔषध गाँजा र विभिन्न वन्यजन्तुका आखेटोपहारसहित तीनजनालाई मंगलबार साँझ पक्राउ गरेको छ।
धरान उपमहानगरपालिका–२० विष्णुपादुकास्थित एक्लो चौतारा नजिकबाट को २ ह ५४४७ नम्बरको ट्याम्पोका चालक धनकुटा शहीदभूमि गाउँपालिका–१ छिन्ताङ घर भई सुनसरी धरान उपमहानगरपालिका–११ सिमाना चोक बस्ने २९ वर्षीय नन्दिमान राई, सोही ठाउँ घर भई हाल धरान उपमहानगरपालिका–११ मंगलबारे डेरा गरी बस्ने १९ वर्षीय दिनेश भन्ने सविन राई र उदयपुर कटारी नगरपालिका–२ ताप्ली घर भई सुनसरी धरान उपमहानगरपालिका–११ मंगलबारे डेरा गरी बस्ने २० वर्षीय सागर राई पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले शंका लागी ट्याम्पो जाँच गर्दा यात्रु बस्ने सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा करीब २ सय ४५ ग्राम अवैध लागूऔषध गाँजा, जंगली पक्षी कालिजको कालो रङका प्वाँख १८ वटा, जंगली जनावर घोरलको सिङ जस्तो देखिने साना सिङ ४ वटा, कस्तुरीको सिङ जस्तो देखिने छाला सहितका २ वटा सिङ बरामद गरेको थियो।
प्रहरीले सुनसरी जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।