अर्थ/बजार मंगलबार, असार ९, २०७७

‘क्वीक भुक्तानी’ प्रयोगका लागि सिद्धार्थ ब्यांक र एफवान सफ्टबीच सम्झौता

हिमालखबर

‘क्वीक भुक्तानी’ प्रयोगका लागि सिद्धार्थ ब्यांक र एफवान सफ्टबीच सम्झौता

सिद्धार्थ ब्यांक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ।

‘क्वीक भुक्तानी’ नामक अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो।

सम्झौता अनुसार, सिद्धार्थ ब्यांकले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्म मार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ।

‘क्वीक भुक्तानी’ यस्तो अनलाइन प्लाटफार्र्म हो जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता 'सप्लायर', ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध ब्यांकलाई एकै ठाउँमा ल्याउँछ।

सप्लायरले यो प्लाटफर्म प्रयोग गरी, आपूर्ति गरिएका सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल ब्यांकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँछ।

यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा ब्यांकले आफ्नो सेवा शुल्क कटाई भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्पूर्ण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ।

नेपालको व्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सान्दर्भिक र लाभदायक हुने सिद्धार्थ ब्यांक र एफवान सफ्टले जनाएका छन्।

 

प्रतिकृया दिनुहोस