एनआईसी एशिया लघुवित्तको व्याजदरमा छुट योजना
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ महीनासम्म चुक्ता गर्नुपर्ने सम्पूर्ण किस्ता\ब्याज रकम जेठ मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत छुटको योजना ल्याएको छ।
नेपाल राष्ट्र ब्यांकले ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत मसान्तसम्म कायम ब्याज दर ३ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको तत्काल पूर्ण कार्यान्वयन गरेको सो संस्थाले जनाएको छ।
यस वित्तीय संस्थाले असार महीनाका लागि समेत कर्जाको ब्याजमा छुट हुने योजना ल्याएको जनाएको छ।
योजना मुताविक ३ प्रतिशत ब्याज छुटका साथै कर्जा सुविधा लिएका ऋणीहरुले २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिशत छुट गरिने सुविधा प्रदान गरिने जनाएको छ।
यस सुविधा पश्चात अधिक व्याजदरको छुट प्राप्त गर्ने ऋणीको व्याजदर १२ प्रतिशत कायम हुने र साँवा तथा ब्याज चुक्ता लाग्ने पेनाल चार्ज\ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ।