अर्थ/बजार सोमबार, असार ८, २०७७

घरभाडा छुटका लागि इक्यानको अपिल

हिमालखबर

घरभाडा छुटका लागि इक्यानको अपिल

कोरोनाभाइरसको महामारीले फागुन यता व्यवसाय प्रभावित भएको भन्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक परामर्श क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरेको छ । बन्दाबन्दी शुरु भएदेखि नै कार्यालय सञ्चालन गर्ने अवस्था नै नभएकाले घरभाडा छुटका लागि घरबेटीसँग इक्यानले अपिल गरेकाे छ।

'बन्दाबन्दी केही खुकुलो भए पनि हालसम्म अन्तर्राष्ट्रिय उडान र सार्वजनिक यातायात नचलेकाले व्यवसाय सञ्चालन गर्न सकिएको छैन, साथै महामारीको संकट अझै लम्बिने देखिएकाले व्यवसायको सञ्चालनको अनिश्चितता बढेको छ, त्यसैले सबैभन्दा बढी प्रभावितमध्येको एक क्षेत्र पनि भएकाले अतिप्रभावित क्षेत्रको सूचीमा राख्न माग गरेका हौं,’ इक्यानका अध्यक्ष प्रकाश पाण्डेले भने।

'बन्दाबन्दीको शुरुमै सरकारले गत चैत महीनाको घरभाडा मिनाहा गर्न भनेकाले सम्बन्धित घरधनीहरुसँग बन्दाबन्दी अवधिभरको घरभाडामा अधिकतम सहुलियत दिन अपिल गर्दैछौं,’ इक्यानद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

इक्यानले बन्दाबन्दीको समयमा कार्यालय सञ्चालन नभएको अवस्थामा इन्टरनेटको प्रयोग नभएकाले त्यसको शुल्क मिनाह गर्न र शुल्क बुझाइसकेका कम्पनीको हकमा लकडाउन अवधिको शुल्कबाटै नयाँ अवधिलाई समायोजन गर्न माग गरिएको छ । त्यसैगरी टेलिफोन सेवा समेतको उपयोगको शुल्क समेत मिनाहा वा समायोजन हुनुपर्ने माग गरेको छ।

इक्यानले जारी विज्ञप्ति मार्फत विभिन्न ब्यांक तथा वित्तीय संस्थाबाट विद्यार्थीहरुले लिएको ऋण कोरोनाका कारण सदुपयोग गर्न नपाएकाले विशेष सहुलियतको लागि अनुरोध गरेको छ।

विद्यार्थीहरुले भर्ना प्रक्रिया पूरा गर्न नसकेको, भिसाको प्रतिक्षामा रहेको वा भिसाप्राप्त भएपछि यात्रा गर्न नपाएको अवस्था रहेको हुँदा शैक्षिक कर्जाको प्रक्रिया जे जस्तो अवस्थामा रहेको भएपनि त्यसमा लाग्ने ब्याज, सेवा शुल्क र कर्जा अवधि समेतलाई विशेष सहुलियतका साथ समायोजन गरिदिन हार्दिक अनुरोध गरेको छ।

 

प्रतिकृया दिनुहोस