थप समाचार सोमबार, असार ८, २०७७

कोरोना संक्रमितको सबैभन्दा लामो उपचार, ९२ दिनपछि डिस्चार्ज

हिमालखबर

कोरोना संक्रमितको सबैभन्दा लामो उपचार, ९२ दिनपछि डिस्चार्ज

बेलायतका स्टिब ह्वाइट ४३ दिन कोमामा थिए । त्यति बेला डाक्टरहरुले उनको बाँच्ने सम्भावना एक प्रतिशत मात्र भएको बताएका थिए । तर सबैभन्दा लामो समय ९२ दिन अस्पताल बसेर निको हुन सफल भएका छन् ।

स्टिब ह्वाइट कोरोनाभाइरस संक्रमणपछि सबैभन्दा लामो समय उपचार गरेर निको हुने व्यक्ति बनेका छन् । ५६ वर्षीय ह्वाइट ९२ दिन अस्पताल बसेर घर फर्किएका छन् ।

उनलाई हियरपोर्ड काउन्टी अस्पतालमा १९ मार्चमा भर्ना भएका थिए । अप्रिलमा उनको परिवारलाई चिकित्सकले उनी अब केही दिनको पाहुना मात्र भएको बताएका थिए । लामो उपचारपछि उनलाई १८ जुनमा डिस्चार्ज गरिएको छ । उनी पेशाले नर्तक हुन् ।

परिवारले डाक्टरसँग उनलाई भेन्टिलेटरमा राख्न लगातार आग्रह गरेका थिए । त्यसैकारण लामो समय उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनले ६७ दिन सघन उपचार कक्ष (आईसीयू) मा बिताए ।

लामो समय भ्यान्टिलेटरमा राखिएका दुईतिहाइ संक्रमितको मृत्यु हुने गरेको छ । तर उनी सबैभन्दा लामो समय अस्पतालमा बसेर निको हुन सफल भएका छन् ।

उनी ४३ दिन कोमामा थिए । त्यति बेला डाक्टरहरुले उनको बाँच्ने सम्भावना एक प्रतिशत मात्र भएको बताएका थिए । उनी भन्छन्, “जब होसमा आएँ म एकदम डरलाग्दो अनुभव गरिरहेको थिएँ । किनकि मलाई केही पनि याद आइरहेको थिएन । घाँटी प्वाल पारेर अक्सिजन दिएकाले आवाज आइरहेको थिएन ।”

यही बीचमा उनको छोरीले फोन गरिन् । फोनमा उनलाई मनपर्ने गीत गाएर सुनाइन् र भनिन्, “मिसिङ यु, पापा ।” त्यसपछि उनको स्वास्थ्य सुधार हुन थालेको थियो ।

दुई बच्चाका पिता रहेका उनको अहिले बेलायतमा निकै चर्चा भइरहको छ । उनले आफू कोरोनासँग जुधिरहेका मान्छेहरुका लागि आशाको किरण रहेको बताएका छन् । हिम्मत नहार्न पनि उनले उपचाररत संक्रमितलाई आग्रह गरेका छन् ।

उनी निको भएपछि अस्पतालका स्वास्थ्यकर्मीले नै यो घटना ‘अद्भुत’ भएको बताएका छन् । अस्पतालबाट निस्कने क्रममा स्वास्थ्यकर्मीले उनलाई ‘हिरो’ भनेर बनेलाएका थिए । जवाफमा उनले सबैलाई धन्यवाद दिए ।

-एजेन्सीहरुको सहयोगमा

प्रतिकृया दिनुहोस