अर्थ/बजार आइतबार, असार ७, २०७७

उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते

हिमालखबर

उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा मार्फत हुने नयाँ कार्यसमितिको निर्वाचन आगामी साउन अन्तिम साता हुने भएको छ । महासंघको आइतबार बसेको पदाधिकारी बैठकले २५ र २६ साउनमा निर्वाचन गर्ने निर्णय गरेको छ।

पदाधिकारीले गरेको निर्णयलाई अब सोमबार बस्ने कार्यसमिति बैठकबाट समेत अनुमोदन भएपछि औपचारिक हुने महासंघले जानकारी दिएको छ । सामान्यतया पदाधिकारी बैठकबाट सिफारिश भएका निर्यणलाई नै कार्यकारिणी समितिले स्वीकृति दिने भएकाले साउन अन्तिम सातालाई महासंघको चुनाव गर्ने गरी मिति तय भएको हो।

साउन अन्तिम सातासम्म कोरानो प्रभाव कम हुने र सभा सम्मेलन तथा भेला गर्न अनुकूल वातावरण सिर्जना हुने अनुमान गर्दै महासंघले यस्तो निर्णय गरेको उल्लेख छ । महासंघको आगामी साधारणसभाले हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा नयाँ नेतृत्व चयन गर्ने छ।

महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन् भने उपाध्यक्षका लागि प्रतिस्पर्धा हुँदैछ । यसअघि २८ र २९ चैतमा तय भएको उक्त निर्वाचन कोभिड–१९ को जोखिमका कारण स्थागित भएको हो।

प्रतिकृया दिनुहोस