टिप्पणी सोमबार, असार ८, २०७७

गाउँघरका औषधि बोझो, चरिअमिलो, अमला र खदिर

हिमालखबर

गाउँघरका औषधि बोझो, चरिअमिलो, अमला र खदिर
तस्वीरहरु: वनएमजी
डा. अरुणा उप्रेती

चरिअमिलोका पात, डाँठलाई पानी राखी उमालेर आधा जस्तो घटेपछि त्यसले मुख कुल्ला गर्दा मुखको घाउ पनि निको हुन्छ।

सानो छँदा खुब भाँडाकुटी खेलिन्थ्यो । ठूला मानिसको देखासिकी गर्दै भोज पनि गथ्र्यौं। भाँडाकुटी खेल्दा गरिने भोजमा एउटा व्यञ्जन चरिअमिलोको पात हुन्थ्यो । त्यो पात कहिले दाल, भात, तरकारी त कहिले अचार भन्दै खाने गथ्र्यौं । त्यो बालापनले जे सिकायो त्यही गरियो तर त्यसको महत्व थाहा थिएन।

अमिलो रस हुने चरिअमिलो एउटा औषधीय गुणयुक्त वनस्पति पो रहेछ ! यसको वैज्ञानिक नाम भने ‘अक्जालिस कोनिक्युलेटा’ हो ।

चरिअमिलो ठूलो र सानो गरी दुई खालको हुन्छ । यसमा क्यारोटिन, क्याल्सियम, अक्जेलिक अम्ल र भिटामिन ‘सी’ जस्ता पोषकतत्व पाइन्छन्।

चरिअमिलोमा रहेको भिटामिन ‘सी’ ले शरीरमा रोगसँग लड्ने शक्ति दिन्छ । आधुनिक विज्ञानको अभ्यास गरिरहेका कुनै विज्ञले भिटामिन ‘सी’ को कमी भए, चरिअमिलो खानुस् भनेर सल्लाह दिंदैनन् । भिटामिन सी को क्याप्सुल बेच्दा व्यापारी लगायत ती सबैलाई फाइदा हुन्छ; किन दिन्थे त्यस्तो सल्लाह!

आयुर्वेदिक औषधिका ज्ञाताहरूले यसलाई ज्वरो आउँदा, पेट दुख्दा, मासिक धर्मका वेलामा अधिक रक्तस्राव हुँदा, टाउको दुख्दा, मुख गन्हाउँदा, गिजामा समस्या हुँदा, पाचनशक्ति कमजोर हुँदा र धतुरो खाएर नशा लाग्दा उपचार गर्नुपर्दा साह्रै प्रभावकारी औषधिका रूपमा चरिअमिलो उपयोग गर्छन्।

याे पनि पढ्नुहाेस्– अपहेलित गुणी लट्टे, झुसे सिस्नो र गुमनाम करी पत्ता

चरिअमिलो ।

आयुर्वेद चिकित्सक डा. रामदेव पण्डित भन्छन्– टाउको दुखेका वेला चरिअमिलोको पातको रसमा प्याजको रस समभाग मिलाएर निधारमा लगाउँदा टाउको दुख्न कम हुन थाल्छ ।

त्यस्तै चरिअमिलोको सुकेका पात धूलो बनाएर त्यसले दाँत माझ्ने हो भने दाँत सफा हुने मात्र होइन दुखेको समेत निको हुन्छ । गिजा सुन्निएका वेलामा चरिअमिलोको पातको रसमा पानी मिसाएर कुल्ला गर्ने हो भने गिजामा रहेको दोष मेटिन्छ ।

युरोपतिर चरिअमिलोलाई सलादमा हालेर खाएको पनि देखिएको छ ।

बूढापाकाहरूले यसलाई अरू घाँसपातसँगै मिसाएर गाईलाई खुवाउँछन् । यसले गर्दा दूध उत्पादन बढ्छ । भिटामिन ‘सी’ शरीरले आफैं उत्पादन गर्न सक्दैन तर हरेक दिन रोगसँग लड्न आवश्यक पर्ने नयाँ कोषहरू बनाउन भने यही आवश्यक पर्छ।

याे पनि हेर्नुहाेस्– भिटामिनका चक्की स्वास्थ्यका लागि कति आवश्यक ?

बोझो

नेपाललगायत अधिकांश देशमा पाइने बोझो वनस्पतिको वैज्ञानिक नाम ‘एकोरस क्यालामस’ हो । यसलाई अंग्रेजीमा ‘स्वीट फ्ल्याग रुट’ भनिन्छ।

बोझो ।

यो वनस्पति सानो हुन्छ । विशेषगरी प्रायः पानी जमेर हिलो भएको ठाउँ अर्थात् दलदलमा धेरै फैलिन्छ । यो समथर भूभागदेखि १८०० मिटरको उँचाइसम्म पनि पाइएको छ ।

यसको पत्ता सुगन्धित हुन्छ । विज्ञहरूले यसको मुख्य प्रभाव मस्तिष्क, रुद्रघण्टी (भोकल कर्ड), पेट, कलेजो, फोक्सो र गर्भाशयमा राम्रो पर्ने बताउँछन् । त्यसैले यी अंगसँग सम्बन्धित रोग भएकाहरूलाई यसको पात तथा जराको उपयोग गरिन्छ।

पतञ्जलीले यसका टुक्रा वा चूर्णको उपयोगले शरीरमा जम्मा भएको विषाक्त पदार्थ निष्कासन गर्न मद्दत गर्ने उल्लेख गरेको छ।

माइग्रेनबाट पीडित भएकाहरूका लागि बोझो साह्रै लाभप्रद औषधिको रूपमा वर्णन गरिएको छ। बोझो र पिप्लाको चूर्ण मिसाएर सुँघे माइग्रेनको पीडा कम हुने बताइएको छ । यसलाई स्मरणशक्तिवद्र्धक औषधिका रूपमा पनि लिइन्छ।

नाक बन्द भएको, हाच्छिउँ आइरहने, घाँटी खसखसाएको वेला बोझोको उपयोग गर्न सकिन्छ।

छाती घ्यारघ्यार वा भारी भएको, फोक्सोमा जलन भएको, अधिक खोकी लागेको, कफ जम्मा भएको र श्वासप्रश्वास सम्बन्धी एलर्जी भएका वेला उपचारका लागि यसको प्रयोग गरेको पाइन्छ।

गाउँघरमा अझै पनि ज्वरो आएको वेला निधारमा यसलाई पिसेर टाउकोमा लगाउने गरिन्छ । त्यसैगरी घाउखटिरा आएका वेला पनि यसलाई पिसेर पानी घोली घाउ वरिपरि लगाइन्छ।

कफले सताएको वा घाँटी दुखेका वेला बोझोको ५०० मिलिग्राम चूर्ण मनतातो दूधमा हालेर खाए जमेर बसेको कफ विस्तारै बाहिर निस्कन थाल्छ। घाँटीको दुखाइ पनि तत्कालै कम हुन थाल्छ।

गाउँघरमा अझै पनि ज्वरो आएको वेला निधारमा यसलाई पिसेर टाउकोमा लगाउने गरिन्छ । त्यसैगरी घाउखटिरा आएका वेला पनि यसलाई पिसेर पानी घोली घाउ वरिपरि लगाइन्छ।

यसका अनेक फाइदा छन् तर गर्भवतीहरूलाई भने यसको प्रयोग गर्न वर्जित गरिएको छ । अरूलाई निरन्तर (लामो समय) र उच्च मात्रामा यसको उपयोग नगर्न पनि सुझाइएको छ ।

याे पनि पढ्नुहाेस्– आँगनमै औषधि

अमला

आयुर्वेदले अमलालाई अमृतफल वा धात्री फल भनेर सम्बोधन गरेको छ । यसको वैज्ञानिक नाम ‘फाइलेन्थस एम्बलिका’ हो । यसलाई काष्ठौषधि (बोटबिरुवाबाट बनाइने औषधि) र रसौषधि (धातु–खनिजबाट बनाइने औषधि) पनि भनिन्छ।

अमलामा प्रचुर मात्रामा भिटामिन सी, एमिनो एसिड, मिनरल र न्युट्रियन्स पाइन्छ। यसमा क्याल्सियम, फस्फोरस आइरन, क्यारोटिन, थियामिन आदि पनि पाइन्छ।

अमला ।

चरक संहिताले यसलाई आयु बढाउने, ज्वरो घटाउने, खोकी ठीक पार्ने र कुष्ठरोग नाश गर्ने औषधिजन्य वनस्पतिको रूपमा वर्णन गरेको छ।

विशेषगरी पाचनप्रणाली सम्बन्धी समस्या भएका वेलामा जनसामान्यले प्रयोग गरिरहेको पाइन्छ। कपाल झर्ने समस्या भएकाहरुले अमला र रिट्ठो मिसाएर लगाउने गर्छन् ।

यसैगरी सुश्रुतसंहिताले अमलालाई शरीरमा भएको विभिन्न खालका दोषलाई मलका रूपमा बाहिर निकाल्न सहयोग गर्ने औषधीय गुण भएको फल भनेर चिनाएको छ।

विशेषगरी पाचनप्रणाली सम्बन्धी समस्या भएका वेलामा जनसामान्यले प्रयोग गरिरहेको पाइन्छ । कपाल झर्ने समस्या भएकाहरुले अमला र रिट्ठो मिसाएर लगाउने गर्छन् । यसको उपयोगले केस कालो र बाक्लो हुने सन्दर्भ धेरै ठाउँमा पढ्न पाइन्छ ।

यसबाहेक मधुमेह, पेट पोल्ने, जण्डिस, हाइपर एसिडिटी, एनिमिया, नाक–कानबाट रगत बग्ने, वात, पित्तसम्बन्धी दोष आदिमा यसको प्रयोग हुने गरेको छ ।

त्यस्तै आँखाको ज्योति कमजोर भएका वेला पनि औषधिका रूपमा उपयोग गर्ने गरिएको छ । धेरै खालका पीडानाशक औषधिका रूपमा अमलालाई निरन्तर खोजिन्छ । अझ भनौं विज्ञ अनुसार अनेक फाइदा उल्लेख गरिन्छ ।

याे पनि हेर्नुहाेस्– भाङ र दिउल खाऔं, स्वस्थ जीवन जिऔं

खदिरादी वटी । तस्बिर: वनएमजी

याे पनि पढ्नुहाेस्– स्वास्थ्यका लागि लाभदायक सातु

खदिर

खदिरलाई नेपालीमा खयर भनिन्छ । खयरको गोलिया चिर्दा यसका फलेकमा विशिष्ट शैलीका बुट्टा निस्कन्छन्। त्यसैले गाउँघरमा यसको काठबाट फर्निचर बनाउने गरिन्छ। पानमा प्रयोग गरिने कत्था यसैबाट बनाइन्छ । आजको चर्चा भने यस वनस्पतिको औषधीय गुणका बारेमा केन्द्रित छ।

औषधीय गुणले भरिपूर्ण वनस्पति खयरबाट ‘खदिरादी वटी’ औषधि बनाइन्छ जुन आयुर्वेदिक औषधि बिक्री गर्ने पसलमा सजिलै पाइन्छ।

विशेषगरी मुखमा घाउ भइरहने मानिसहरूले यो औषधि घरमा राखिरहनु उपयोगी हुन्छ।

धेरैजसो खानपानमा हुने असन्तुलनले मुखभित्र, ओठ र जिब्रोमा घाउ हुन्छ, यद्यपि यसका अन्य कारण पनि हुनसक्छन् । घाउ निको नभएर हैरान भएकाहरूले एक पटक भेटे भने खदिरादी वटी गोजीमै बोकेर हिंडौं झैं गर्छन्।

धेरै बोलिरहेकाले, जोडले बोलेकाले र छिटोछिटो बोलेकाले कहिलेकाहीं स्वर भासिन सक्छ । त्यस्तो समस्या भोगिरहने व्यक्तिहरूका लागि त यो औषधि रामवाण नै हो । मौसम परिवर्तन भएकोले रुघाखोकीले हैरान पारेको वेलामा पनि यो औषधि साह्रै उपयोगी देखिएको छ।

धेरै मानिस खाना खाँदा स्वाद नपाएको गुनासो गर्छन्, उनीहरूले यही खदिरादी वटी मुखमा राखेर चुसे भने स्वाद फर्कन्छ । मुख सुकिरहने मानिसहरूका लागि पनि उत्तिकै लाभप्रद छ।

यसबाहेक दाँत दुखेको, दाँत सिरिङ्ग भएको वेलामा पनि आयुर्वेदिक चिकित्सकहरूले यही दवाई सिफारिश गरेको पाइन्छ।

याे पनि पढ्नुहाेस्– नाम अंग्रेजी, भोजन नेपाली

याे पनि पढ्नुहाेस्– तापाैं घाम, सम्झाैं अति जरूरी काम

याे पनि पढ्नुहाेस्– स्वाद तीतो, स्वास्थ्यलाई मीठो

प्रतिकृया दिनुहोस