टिप्पणी बुधबार, असार ३, २०७७

कोभिड–१९ विरुद्धको खोप: अझै कति समय पर्खनु पर्ला ?

हिमालखबर

कोभिड–१९ विरुद्धको खोप: अझै कति समय पर्खनु पर्ला ?

खोपको विशेषता के हो भने यसमा मरेको वा दुर्बल जीवाणु वा जीवाणुका केही पार्टपुर्जा मात्र प्रयोग गरिने हुनाले यसले संक्रमण नगरिकनै त्यस जीवाणु विरुद्ध प्रतिरोध गर्ने सम्झनाशक्ति तयार गर्छ ।

कोभिड–१९ महामारीसँगै खोपका बारेमा जनचासो ह्वात्तै बढेको छ । यसको उपचारका लागि कुनै भरपर्दो र प्रभावकारी औषधि अहिलेसम्म देखिएको छैन । वैज्ञानिकहरूले यो महामारीबाट मुक्ति पाउने अन्तिम र एकमात्र उपाय खोप नै हो भनेकाले यसको सान्दर्भिकता र महत्व झन् बढेको छ ।

अहिले महामारी मच्चाइरहेको कोरोनाभाइरसको आधिकारिक नाम सार्स–कोभी–२ हो भने महामारी (रोग) को नाम चाहिं कोभिड–१९ हो । यस पटक खोप के हो र यसको विकास गर्न वर्षौं किन लाग्छ ? भन्नेबारेमा चर्चा गरिएको छ ।

आधुनिक चिकित्सा प्रणालीले गरेको सबभन्दा परिवर्तनकारी, सफल र सस्तो प्रविधिहरूमा खोप सर्वोच्च स्थानमा आउँछ । विभिन्न सभ्यतामा खोपका विविध प्रकारहरूको अनौपचारिक प्रयोग हुँदै आए पनि आधुनिक प्रणालीले खोपलाई वैज्ञानिक रूपमा अंगीकार गरी क्रमशः विकास गर्न थालेको पनि २०० वर्षभन्दा बढी भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार खोपले आजका दिनमा करोडौं मानिसलाई रोगव्याधिबाट बचाउनुका अतिरिक्त वर्षेनि २० देखि ३० लाख बच्चाहरूलाई मृत्यु हुनबाट जोगाउँछ । खोपको विश्वव्यापी प्रयोगले बिफर पृथ्वीबाट निर्मूल भइसकेको छ भने पोलियो निर्मूल हुने सँघारमा छ । नेपालमा पनि सुगौली सन्धिपछि सीमित रूपमा बेलायती सहयोगमा खोप भित्र्याइएको जानकारी इतिहासमा पढ्न पाइन्छ ।

त्यसैगरी सन् १९७९ देखि मात्र खोपलाई राष्ट्रिय स्वास्थ्य कार्यक्रममा सामेल गरिएको हो । हाल नेपालका बालबालिकालाई ११ विभिन्न थरीका रोग विरुद्ध खोप निःशुल्क वितरण गर्ने गरिएको छ ।

खोपले रोगबाट कसरी बचाउँछ ?

खोपले कुनै ब्याक्टेरिया वा भाइरस जस्ता जीवाणुबाट भविष्यमा रोग लाग्ने सम्भावना कम वा निर्मूल गर्छ । सामान्यतया एउटा जीवाणुका लागि बनाइएको खोपले त्यही जीवाणुको विरुद्धमा मात्र काम गर्छ । त्यही भएर रोगैपिच्छेका भ्याक्सिन बनाउनुपरेको हो ।

भ्याक्सिनले कसरी काम गर्छ भनेर बुझ्न हाम्रो शरीरको प्रतिरोध प्रणालीको बारेमा बुझ्न जरूरी हुन्छ । उदाहरणका लागि दादुराको पहिलोपल्ट संक्रमण हुँदा बच्चाहरूको जीउको प्रतिरोध प्रणाली त्यो भाइरसबाट बच्नको लागि तयार भइसकेको हुँदैन।

त्यो भाइरसलाई तह लगाउन हाम्रो शरीरले एण्टीबडी लगायतका अस्त्रहरू बनाउन्जेल भाइरसले शरीरमा ज्वरो लगायतका दादुराका अरू लक्षणहरू देखाउन थालिहाल्छ । दादुरा प्रभावित बच्चाहरू सामान्यतया बाँचे पनि दुर्भाग्यवश केही बच्चाहरू इन्सेफलाइटिस र न्यूमोनियाका कारण सिकिस्त हुन्छन्, केहीले आँखाको ज्योति गुमाउन सक्छन् भने केही बालबच्चाहरूले दादुराको संक्रमणकै दौरान जीवन पनि गुमाउँछन् ।

बाँचेकाहरूमा केही दिनमा शरीरको प्रतिरोध प्रणाली तयार हुन्छ र यसले विस्तारै शरीरलाई भाइरसबाट निर्मूल बनाउँछ । दादुराको संक्रमण सकिएपछि पनि दादुरा विरुद्धको एण्टीबडी, एण्टीबडीको कारखानाको काम गर्ने प्लाज्मा कोषिका लगायतका अरू प्रतिरोध गर्ने कोषिकाहरू भने हाम्रो शरीरमा लामो समयसम्म रहिरहन्छन्।

भविष्यमा कुनै वेला दादुराको भाइरसले फेरि आक्रमण गरेको थाहा पाउनासाथ प्लाज्मा कोषिकाले पहिलो संक्रमणको सम्झना गरेर ठूलो मात्रामा एण्टीबडी उत्पादन गर्न थालिहाल्छ । एण्टीबडीले भाइरसलाई चिम्टा जस्तो समातेर नष्ट गर्न मद्दत गर्छ र हाम्रो शरीरलाई संक्रमणबाट जोगाउँछ । हाम्रो शरीरको प्रतिरोध प्रणालीसँग हुने यस्तो अद्भुत सम्झनाशक्तिले गर्दा नै एकपल्ट दादुरा भएपछि सोही मानिसलाई हत्तपत्त फेरि दादुरा हुँदैन ।

दुर्भाग्यवश, प्रतिरोध प्रणालीको यस्तो सम्झनाशक्ति सबै जीवाणु विरुद्ध आजीवन भने हुँदैन । कुनै जीवाणुका विरुद्ध यो सम्झनाशक्ति केही महीना वा वर्ष दिन मात्र पनि हुन सक्छ । कोभिड–१९ को संक्रमणपछि निको भएका व्यक्तिहरूको रगतमा भाइरस विरुद्ध पर्याप्त एण्टीबडी पाइएको छ । यद्यपि यो भाइरस विरुद्धको प्रतिरोध प्रणालीको सम्झनाशक्ति कति लामो हुन्छ त्यसबारेमा थाहा पाउन हामीले अझै केही समय कुर्नुपर्ने हुन्छ ।

एण्टीबडी (फिक्का हरियो) ले भाइरसलाई समातेको रेखाचित्र ।

अब खोपले कसरी काम गर्छ हेरौं । खोपले संक्रमणको नक्कल गरेर त्यस जीवाणु विरुद्ध भविष्यमा प्रतिरोध गर्ने सम्झनाशक्ति तयार गर्छ । खोपको विशेषता के हो भने यसमा मरेको वा दुर्बल जीवाणु वा जीवाणुका केही पार्टपुर्जा मात्र प्रयोग गरिने हुनाले यसले संक्रमण नगरिकनै त्यस जीवाणु विरुद्ध प्रतिरोध गर्ने सम्झनाशक्ति तयार गर्छ । दादुराको खोपको हकमा यसले दादुरा हुँदा हुने लक्षणहरू नदेखाइकनै दादुरा विरुद्ध प्रतिरोध गर्ने सम्झनाशक्ति तयार गर्छ र त्यो बच्चा भविष्यमा हुने दादुराको संक्रमणबाट सुरक्षित हुन्छ ।

विभिन्न जीवाणुहरूको संक्रमण गर्ने तरिका, प्रवृत्ति र आचरण फरक हुन्छ । तिनका विरुद्धमा शरीरले तयार गर्ने प्रतिरोध प्रणालीको विशेषता पनि अलगअलग हुने हुनाले खोप पनि विभिन्न प्रकारका छन् र तिनको प्रभावकारिता पनि फरक फरक हुन्छन् ।

कुनै खोपले संक्रमण हुनबाट पूर्णतया जोगाउन नसके पनि रोगका लक्षणहरू कम खतरनाक बनाउने हुनाले तिनको प्रयोग गरिन्छ । यही जीवाणुको विशिष्ट गुण–अवगुणका कारण धेरै जीवाणुका विरुद्ध विज्ञानले अहिलेसम्म सुरक्षित र प्रभावकारी खोप बनाउन सकेको छैन । अर्बाैं डलर लगानीको बाबजूद अमेरिकामा १९८० को दशकमा देखिएको एड्स भाइरसको विरुद्धमा खोपको विकास हुन नसक्नु यसको ज्वलन्त उदाहरण हो ।

खोपको विकास प्रक्रिया

अहिलेको सबभन्दा अनुत्तरित तर सबभन्दा सोधिएको प्रश्न भनेको कोभिड–१९ को खोप कहिले तयार होला भन्ने नै हो । त्यसको जवाफ खोज्नु अघि खोप बनाउने परम्परागत प्रक्रियाको बारेमा छोटो चर्चा गर्नु उपयुक्त हुन्छ ।

खोपको विकास महँगो र जटिल प्रक्रिया हो । बनाउन सजिलो हुने खालका खोपहरूको विकास पहिले नै भइसकेकाले नयाँ रोग विरुद्धका खोपहरूको विकास झन् झन् महँगो, लामो, जटिल र असम्भवप्रायः हुँदै गएको छ । सामान्यतया आजकल एउटा खोपको निर्माण गर्न दशदेखि पन्ध्र वर्ष लाग्छ (हेर्नुस् तालिका) । यसैगरी बहुसंख्यक खोपहरू विकास क्रममा असुरक्षित भएर वा प्रभावकारी नभएर असफल हुन्छन् ।

खोप बनाउँदा सबभन्दा पहिले खोपमा के राख्नु उपयुक्त हुन्छ भनी बृहत् अनुसन्धान गरिन्छ । सिद्धान्ततः खोपमा त्यो जीवाणुलाई यसरी प्रयोग गर्नुपर्‍यो कि त्यसले रोग नलगाइकन त्यस रोगको जीवाणु विरुद्धको प्रतिरोध गर्ने सम्झनाशक्ति तयार पारोस् ।

माथि उल्लेख गरिए झैं कि त खोपमा मरेको वा दुर्बल जीवाणु वा जीवाणुका केही पार्टपुर्जा प्रयोग गरिन्छ । शुरूमा एउटा खोपका लागि सयौं सम्भाव्य उम्मेदवार (भ्याक्सिन क्यान्डिडेट) हरू तय गरिन्छन् र त्यसलाई प्रयोगशालामा क्रमशः परीक्षण गर्दै गइन्छ । परीक्षणको खरो कसीमा उत्रिएका उम्मेदवारहरूलाई त्यसपछि मुसा, खरायो, छुचुन्द्रा जस्ता साना जनावरहरूमा प्रयोग गरिन्छ ।

सयौंका संख्यामा जनावरहरूलाई विभिन्न खोपका सम्भाव्य उम्मेदवारहरू दिइन्छ । त्यसपछि ती जनावरहरूलाई सम्बन्धित जीवाणुबाट जानाजानी संक्रमण गराइन्छ त्यसलाई ‘च्यालेन्ज स्टडी’ भनिन्छ । जुन खोपका सम्भाव्य उम्मेदवारहरूले जनावरलाई संक्रमण गर्नबाट जोगाउँछन् तिनलाई अर्को चरणमा बाँदरहरूमा फेरि ‘च्यालेन्ज स्टडी’ गरिन्छ ।

यसक्रममा ती जनावरहरूले कस्तो खालको प्रतिरोध उत्पादन गरे, त्यसको गुणस्तर कस्तो छ, प्रतिरोध सम्झनाशक्तिको आयु कति छ, त्यसबारेमा गहन र बृहत् अनुसन्धान गरिन्छ । यो आविष्कार र ‘प्रि–क्लिनिकल फेज’ पूरा गर्न सामान्यतया पाँच वर्षभन्दा बढी लाग्न सक्छ ।

बाँदरमा सफल भएका र सबभन्दा उत्कृष्ट नतिजा आएका केही उम्मेदवारहरूलाई त्यसपछि मानवमा परीक्षण गरिन्छ । लामो र खर्चिलो हुने भएकाले उच्च वैज्ञानिक आधार र उचित बजार छ भने मात्रै मानव परीक्षण गरिन्छ । धेरै खोपको विकास यो चरणमा गएर तुहिनुको मूल कारण भने साना जनावरमा उच्च गुणस्तरको नतिजा देखिए पनि मानिसमा परीक्षण गर्दा सुरक्षित र प्रभावकारी नहुनु नै हो ।

मानव परीक्षणका विभिन्न चरण ।

मानव परीक्षणलाई मूलतः तीन चरणमा विभाजन गर्न सकिन्छ । पहिलो चरण (फेज–१) मा खोप मानिसमा सुरक्षित छ कि छैन भनी सानो संख्यामा (२०–३० जनादेखि १०० जनासम्म) स्वस्थ युवा स्वयंसेवकहरूमा परीक्षण गरिन्छ । साथै त्यो खोपले जीवाणु विरुद्ध चाहिने मात्रामा एण्टीबडी उत्पादन गर्‍यो कि गरेन भनेर पनि परीक्षण हुन्छ ।

दोस्रो चरण (फेज–२) भनेको पहिलो चरणकै विस्तारित रूप हो, जसमा पहिलो चरणमा सफल भएको खोपको उम्मेदवारलाई केही सय मान्छेहरूमा परीक्षण गरिन्छ। यसमा खोपका विभिन्न मात्रा (डोज) हरूको पनि तुलना गरिन्छ । साथै युवा स्वयंसेवकका अतिरिक्त बूढाबूढीहरूमा पनि परीक्षण गरिन्छ । कहिलेकाहीं प्रभावकारिता पनि हेरिन्छ । सन्तोषजनक परिणाम आएका खण्डमा मात्र खोप परीक्षणको तेस्रो (फेज–३) र सबभन्दा महत्वपूर्ण चरणमा प्रवेश गर्छ जसमा खोपको प्रभावकारिता अध्ययन गरिन्छ । 

र्‍याण्डमाइज कन्ट्रोल्ड ट्रायल’ को सर्वस्वीकृत सिद्धान्त अनुसार दुई समूहमा विभाजन गरिन्छ । एउटा समूहलाई खोप दिइन्छ भने अर्को समूहलाई खोप जस्तै देखिने तर खोप नभएको झोल (प्लेसिबो) दिइन्छ ।

खोप दिने र लिने दुवैलाई कसले खोप पायो या पाएन भन्ने जानकारी हुँदैन । त्यसपछि ती मानिसलाई घर पठाइन्छ र कति जनालाई भविष्यमा त्यो जीवाणुबाट संक्रमण भयो भनेर अनवरत अनुगमन गरिराखिएको हुन्छ ।

तथ्यांकशास्त्रको नियम अनुसार कुल कति जनालाई संक्रमण भएपछि तेस्रो चरणको परीक्षण सकिन्छ भनेर पहिले नै तय गरिएको हुन्छ । चाहिए जति संख्यामा संक्रमण भइसक्न कति महीना वा वर्ष लाग्छ भन्ने कुरा त्यो रोगको दर समुदायमा कति छ र भ्याक्सिन कति प्रभावकारी छ भन्ने कुरामा भर पर्छ ।

यदि खोप लगाएको समूहमा भन्दा नलगाएको समूहमा संक्रमणको दर बढी देखियो भने खोप प्रभावकारी भएको ठहर्छ । तेस्रो चरणको परीक्षणका क्रममा धेरै पटक डाटा अनुगमन र विश्लेषण हुने हुनाले खोप असुरक्षित देखिए वा प्रभावकारी नदेखिने प्रचुर सम्भावना भएको अवस्थामा तेस्रो चरणलाई तुरुन्त तुहाइन्छ ।

खोप विकासको सबभन्दा खर्चिलो, लामो, जटिल र गाह्रो चरण मानव परीक्षण नै हो । एउटा फेजबाट अर्कोमा जानुअघि लामो डाटा विश्लेषण र निर्णय प्रक्रिया हुन्छ । यो सबै गरिसक्दा आठ–दश वर्ष वा त्योभन्दा बढी पनि लाग्न सक्छ ।

तेस्रो परीक्षणमा सफल भएपछि सम्बन्धित राष्ट्रको नियमन गर्ने निकाय (जस्तै, अमेरिकाको एफडीए) ले बजार प्रवद्र्धनका लागि अनुमति दिनुअघि करीब एक वर्ष लाएर तथ्यांकहरूको गहन अध्ययन र विश्लेषण गर्छ । अनुमति पाउने पक्का भएपछि मात्र सम्बन्धित कम्पनीले ठूलो मात्रामा खोप उत्पादन गर्न शुरू गर्छ ।

अहिलेको महामारीमा एकमात्र आशाको केन्द्रविन्दु बनाइएको खोप बन्न सामान्यतया दशदेखि पन्ध्र वर्ष लाग्ने समाचारले सबैलाई निराश बनाउनु स्वाभाविकै हो । हामीले इतिहासमा हेर्‍यौं भने सबभन्दा चाँडो बनेको इबोला भ्याक्सिन बनाउन पनि पाँच वर्ष लागेको थियो । तर विगत ५–६ महीनामा जुन रूपमा खोपको विकासका लागि संसारभरि उच्चस्तरको काम भइरहेको छ, त्यसले खोप एकदेखि डेढ वर्षभित्रै तयार भएर प्रयोगमा आउन सक्ने आधारहरू देखिएका छन् । त्यति लामो प्रक्रियालाई छोट्याएर कसरी यति चाँडै खोप आउन सम्भव होला त ? त्यस बारेमा दोस्रो खण्डमा चर्चा हुने नै छ ।

(संक्रमण र भ्याक्सिनका विरुद्ध शरीरले कसरी प्रतिरोध क्षमता उत्पन्न गर्छ भन्ने विषयमा अनुसन्धान र विद्यावारिधि गरेका डा. नेपाल हाल औषधि र भ्याक्सिन निर्माण गर्ने अमेरिकी बहुराष्ट्रिय कम्पनीमा भ्याक्सिन विज्ञका रूपमा कार्यरत छन् । हाल उनी क्यानाडाको भ्यानकुभरमा बसोबास गर्छन् ।)

प्रतिकृया दिनुहोस