गलवान भ्यालीमा ४३ चिनियाँ सैनिक हताहत भएको भारतीय पक्षको दाबी
भारतीय र चिनियाँ सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको भिडन्तमा ४३ जना चिनियाँ सैनिक हताहत भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एसिएन न्यूज इन्टरनेसनल (एएनआई) ले उल्लेख गरे अनुसार भारततर्फ २० जनाको मृत्यु भएको र चीनतर्फ ४३ जना सैनिक हताहत भएका छन् भने अझै थुप्रै क्षति भएको हुन सक्ने अनुमान गरेको छ।
यसअघि भारतीय सञ्चार माध्यमहरूले नै झडप भएको र तीन भारतीय सैनिकको मात्रै मृत्यु भएको बताएका थिए।
भारत र चीनको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा सोमबार राति भिडन्त भएको थियो।
केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ । चीनले भने भारतीय सेना चिनियाँ क्षेत्रमा प्रवेश गरेकाले विवाद भएको बताइरहेको छ।
चिनियाँ विदेश मन्त्रालयले घटनामा प्रतिक्रिया दिँदै मंगलबार बिहान, "चिनियाँ सैनिकहरुमाथि आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि भारत र चीनका फौजबीच सीमा क्षेत्रमा भौतिक भिडन्त भएको हो।"
चिनियाँ सैनिकले आफूलाई सीमा क्षेत्रमा नजिस्क्याउन भारतीय पक्षलाई चेतावनी दिएको छ।
विगत लामो समयदेखि भारत र चीनबीच सीमामा तनाव हुँदै आएको भएपनि झडपमा यति ठूलो संख्यामा क्षति भएको यो पहिलो घटना हो।
भारत र चीनबीच सन् १९६२ मा भएको युद्धमा भारत पराजित भएको थियो। सो समयदेखि भारतले चीनलाई ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको आरोप लगाउँदै आइरहेको छ।
पटकपटक भारतीय चिनियाँ सैनिकबीच सीमा क्षेत्रमा झडपहरू भइरहेको भएपनि वार्ताबाट समाधान निस्कन सकेको छैन।
यो पनि: