रिपोर्ट मंगलबार, असार २, २०७७

किन मिल्दैन कोरोना संक्रमितको पूर्वानुमान?

हिमालखबर

किन मिल्दैन कोरोना संक्रमितको पूर्वानुमान?

सरकार स्वयंले शुरुमा १५ सयमात्र अनुमान गरेको कोरोना संक्रमितको संख्या अहिले ६ हजार नाघेको छ । किन र कसरी गरिन्छन् यस्ता अमिल्दा पूर्वानुमान?

– रामु सापकोटा र अरुण कार्की

स्वास्थ्य सेवा विभागले पहिलो पटक चैतमा नेपालमा कोभिड–१९ संक्रमितको संख्या पूर्वानुमान गर्‍यो । विभागको आपूर्ति व्यवस्थापन शाखाले गरेको उक्त पूर्वानुमानमा भनिएको थियो– नेपालमा १५ सय कोरोनाभाइरस संक्रमित देखिने छन्।

यस्तो पूर्वानुमान लगत्तै स्वास्थ्य सेवा विभागले चैतमै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल मार्फत चीनबाट एक करोड तीन लाख ३३ हजार अमेरिकी डलर भन्दा बढी मूल्यका स्वास्थ्य सामग्री खरीदको निर्णय गर्‍यो।

एक त अचाक्ली महँगो, अर्को तर्फ गुणस्तर समेत यकिन नभएका स्वास्थ्य सामग्री भित्रिन थालेपछि ठूलो विवाद उत्पन्न भयो । विभागले बाध्य भई ओम्नी मार्फत थप सामग्री नकिन्ने घोषणा गर्‍यो।

तर, जब मुलुकमा संक्रमितको संख्या एक हजार पुग्यो, १२ जेठमा विभागले अर्को पूर्वानुमान सार्वजनिक ग¥यो । यसपटक उसले संक्रमितको संख्या पाँच हजार पुग्ने बतायो।

कोरोना संक्रमितको संख्याा अनुमान गर्न प्रयोग प्रसारण मोडल ।

त्यसपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको हेल्थ सेक्टर इमेर्जेन्सी रेस्पोन्स प्लानमा नेपालमा पहिलो चरणमा दुई हजारसम्म, दोस्रो चरणमा दुईदेखि पाँच हजार, तेस्रो चरणमा पाँचदेखि १० हजार र चौथो चरणमा १० हजार बढी पुग्ने पूर्वानुमान गरिएको थियो।

विभागका पूर्वानुमानलाई आधार मान्दै २१ जेठमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले एक महीनाभित्रै संक्रमितको संख्या १५ हजार पुग्ने बताए।

तर, बढ्दो कोरोना संक्रमितको संख्यासँगै २३ जेठमा विभागले पुनः अर्को पूर्वानुमान घोषणा गरेको छ, जसअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २५ हजारसम्म पुग्नेछ।

आखिर संक्रमितको संख्याबारे सरकारकै पूर्वानुमान किन मिल्दैन? किन पटकपटक यस्तो भ्रम छर्ने पूर्वानुमान सार्वजनिक गरिन्छ?

आपूर्ति व्यवस्थापन शाखाका तत्कालीन निर्देशक भोगेन्द्र डोटेलको जवाफ सुन्ने हो भने हाम्रो पूर्वानुमानको आधार बुझ्न सकिन्छ। डोटेल संक्रमित संख्या पूर्वानुमानमा स्वास्थ्य सामग्रीको सोझो सम्बन्ध रहेको बताउँछन्।

“पूर्वानुमान वैज्ञानिक तवरबाटै गरिएको हो”, डोटेल भन्छन्, “तर शुरुमा स्वास्थ्य सामग्री प्रयोग नभई खेर जान्छन् कि भन्ने डरले कम संख्या अनुमान गर्नुपरेको हो”, डोटेल भन्छन्।

स्वास्थ्य मन्त्रालयको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी एक समितिका विज्ञ चिकित्सक जनस्वास्थ्यविद् प्राडा सुजनबाबु मरहठ्ठा कोरोनाभाइरस एक व्यक्तिमा कति समयसम्म रहन्छ र यसको संक्रमण दरको आधारमा संक्रमितको संख्याबारे पूर्वानुमान गरिएको बताउँछन्।

“तर परीक्षण दर नबढाएसम्म कुनै पनि पूर्वानुमान मिल्छ भन्ने आधार छैन,” उनी भन्छन्।

स्वास्थ्य अर्थशास्त्री शिवराज अधिकारीका अनुसार, स्वास्थ्य जनशक्ति, पूर्वाधार लगायतका सामग्रीको व्यवस्थापन गर्न पनि पूर्वानुमान आवश्यक हुने तर महामारीमा प्रभावितको संख्या न्यूनतम र अधिकतम मात्र अनुमान गर्न सकिने बताउँछन् । महामारीमा अन्य विधिको नक्कल (सिमुलेसन) का आधारमा हिसाब गरेर पूर्वानुमान गरिने र यसका पारामिटर पनि निश्चित नहुने उनको भनाइ छ।

कोभिड–१९ महामारीको कारक कोरोनाभाइरसको चरित्र नयाँ भएकाले पनि पूर्वानुमान गर्न कठिन भइरहेको जानकारहरु बताउँछन्।

कोरोना संक्रमितको संख्याा अनुमान गर्न प्रयोग गरिने ‘कर्भ’ मोडल ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कीटजन्य रोग शाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम प्याकुरेल डेंगी जस्ता कीटजन्य रोगबारे विगत तीन वर्षको तथ्यांकलाई आधार बनाएर संक्रमितको संख्याबारे अनुमान गर्ने गरिएको बताउँछन् । यस्तो अनुमानमा मानिस र किराको गतिशिलता, मौसम आदिलाई महत्वपूर्ण आधार मानिन्छ।

“तर, कोभिड–१९ नयाँ भएकोले यसबारे अत्यन्त कमैमात्र जानकारी छ, त्यसैले पनि पूर्वानुमानहरुमा समस्या परेको देखिन्छ”, उनी भन्छन्।

अमेरिकाको वासिंगटन युनिभर्सिटीको हेल्थ मेट्रिक्स एण्ड इभालुएसनले ४ मे मा प्रकाशित पूर्वानुमानमा जून महीनाको अन्त्यसम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य नजिक पुग्ने बतायो । तर, त्यसको एक साताअघि मात्र हाभर्ड युनिभर्सिटीको एक अध्ययनको निष्कर्षमा खोप पत्ता नलागेसम्म संक्रमण धेरै वर्षसम्म रहिरहने देखाएको थियो।

कोरोनाभाइरस संक्रमितको संख्याबारे गरिने पूर्वानुमान फरक हुनुमा अध्ययनमा प्रयोग विधिका विविधता मुख्य हुनेगर्छन्।

हाभर्ड युनिभर्सिटीले प्रशारण विधि अपनाएको थियो, जसमा समुदायमा भाइरस कसरी फैलिइरहेको छ भन्ने कुरालाई मुख्य आधार बनाइएको थियो।

वासिंगटन युनिभर्सिटीले भने कर्भ फिटिंग विधि प्रयोग गरेको थियो। “कर्भ फिटिंग मोडल छोटो अवधिका लागि भविष्यवाणी गर्न उपयोगी हुन्छन्,” अमेरिकाको यूसीएलए फिल्डिङ स्कूल अफ पब्लिक हेल्थका डीन रोन ब्रुकमेयरको २२ अप्रिलमा लस एन्जलस टाइम्स पत्रिकामा प्रकाशित लेखमा भनिएको छ “तर, म लगायतका धेरै अन्वेषकहरु यस्ता मोडलमा विश्वास गर्दैनौं।”

प्रतिकृया दिनुहोस