क्वारेन्टिनको बेथितिमा सरकारको अनुहार देखियो: नेपाली कांग्रेस
नेपाली कांग्रेसले कैलालीको क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा सरकारको अनुहार देखिएको भन्दै घटनाको निन्दा गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गरी घटनामा जो कोही सामेल भए पनि कडा कारबाही गर्न माग गरेका छन्।
"कैलालीको घटनामा दोषीलाई कानूनी कारबाही सँगसँगै क्वारेन्टिनहरुको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी छ । मापदण्ड विपरीतका अव्यवस्थित क्वारेन्टिनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएका छन्," विज्ञप्तिमा भनिएको छ।
तीन तहको सरकार भएर पनि एउटा चेलीको रक्षा गर्न नसकेको भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ, "क्वारेन्टिनको सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको छ र अन्तत: बलात्कारसम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ।"
क्वारेन्टिनको व्यवस्थापन र सुरक्षा सम्बन्धमा गम्भीर लापरबाही गर्नेहरुको नैतिक जिम्मेवारी यो घटनामा गाँसिन्छ कि गाँसिदैन भन्दै कांग्रेसले यो भन्दा लज्जास्पद घटना अर्को के हुनसक्छ ? भनेर प्रश्न उठाएको छ।
बलात्कारमा सामेललाई कानूनी कारवाहीसँगै यो घटनाको गम्भीर समीक्षा गरेर राज्यको जिम्मेवार पदमा रहेर गैरजिम्मेवार बन्नेहरुलाई दोषको मात्रा अनुरुपको विविध कारवाही गर्न नेपाली कांग्रेसले माग गरेको छ।
क्वारेन्टिनका बेथितिहरु समेत विरुद्ध दबाब दिन नेपाली कांग्रेसले भोलि २ असारमा स्वदेश र विदेशबाट एकसाथ प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ।