टिप्पणी बुधबार, असार ३, २०७७

दोषी हामी गैरदलित

हिमालखबर

दोषी हामी गैरदलित
स्केच: भानु भट्टराई

बिहाबारी र प्रेम सम्बन्ध, सामूहिक खानपान, शक्तिपीठ/मन्दिरमा प्रवेश वा पूजाआजाका सिलसिलामा जातका आधारमा छुवाछूत, भेदभाव र दुर्व्यवहारका घटना हुन्छन् र समाचार आइरहन्छन् । तर छुवाछूत र दुर्व्यवहारलाई संविधान र कानूनले आपराधिक कार्य मानेको छ ।

अधिवक्ता रवीन्द्र भट्टराई

कानूनले अपराध माने पनि भेदभाव र दुर्व्यवहारका घटनाको प्रभावकारी अनुसन्धान नहुने र अपराधीलाई राज्यले नै उम्काउने गरेको मूल्याङ्कन धेरैको छ । दलितसम्बन्धी संघसंस्थादेखि राष्ट्रसंघीय अधिकारीसम्मका यस्ता मूल्याङ्कन छन् । भेदभाव, दुर्व्यवहार र दण्डहीनताको जरो हिन्दू धर्म हो भन्ने ठम्याइ र विश्वास धेरैको छ ।

अर्कातिर, हिन्दू धर्मलाई यसको कारण मानिएकोमा असन्तुष्टि दर्साउने पनि छन् । गैरदलित भनेर चिनाइएका वा चिनिएका धेरैले चाहिं छुवाछूत भेदभाव दलितकै समस्या ठान्छन् । यो समस्यासँग आफ्नो कुनै भूमिका नजोडिने तिनको ठम्याइ छ ।

छुवाछूत र दुर्व्यवहार जस्ता समस्याको मूल स्रोत गैरदलित भनेर चिनिने समुदाय हैन र ? के हो जातपात र जातीय विभेद ? के छ धर्मसँग यसको सम्बन्ध ? यो आलेखमा यिनै प्रश्नबारे उहापोह गर्ने चेष्टा गरिएको छ ।   

के हो वर्णाश्रम ?

वैदिक कालमा प्रशान्त पश्चिम, अरब सागर पूर्व, हिमालय दक्षिण र विन्ध्याचल पर्वत उत्तरको भूगोलमा ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र चार वर्ण र ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास चार आश्रमको सामाजिक प्रणाली थियो ।

औसतमा २५ वर्षको उमेरसम्म अध्ययन, ५० वर्षसम्म घरव्यवहार, ७५ सम्म वनविहार र ७५ वर्षपछि संन्यास लिएर वनवासी हुने मान्यता थियो । कति ब्रह्मचर्यपछि गृहस्थ नगरी वनप्रस्थी र संन्यासी पनि हुन्थे । 

१२ वर्षको उमेर नाघेपछि २५ वर्षसम्म गुरुकुलमा रहेर ब्रह्मचर्य पूरा हुन्थ्यो । गृहस्थमा गएपछि सबै क्षेत्रीय, वैश्य र शूद्र धर्म पालन गर्थे । ब्राह्मण त गुरुकुल चलाउनेहरू मात्र हुन्थे तिनको गृहस्थ गुरुकुल सञ्चालन गर्नु नै हुन्थ्यो । बुद्धले पनि यस्तै आधारमा गृहस्थी र भिख्खु (श्रावक र संन्यासी) छुट्याएका देखिन्छ ।

पारिवारिक गृहस्थी धर्म जुनसुकै लिएको भए पनि गुरुकुलमा जाने र ज्ञान हासिल गरेर फर्केपछिको क्षेत्रीय, वैश्य र शूद्र कुन धर्म (पेशा) अपनाउने स्वेच्छिक हुन्थ्यो र वरण गरेको धर्म (पेशा) अनुसार उसलाई क्षेत्री, वैश्य वा शूद्र भनेर चिनिन्थे ।

ब्रह्माका मानसपुत्र भनिएका वशिष्ठ ऋषि र परशुराम  क्षेत्रीय तथा अठार पुराणका रचयिता मानिएका वेदव्यास शूद्र पारिवारिक व्युत्पत्तिका ऋषि थिए । यसरी वर्णधर्म र आश्रमधर्मको संयोजित स्वरूपलाई वर्णाश्रम धर्म भनिंदै आयो ।

जातपात छुवाछूत के हो ?

मध्यकाल विक्रमको ६०० देखि १५०० सम्म वर्णाश्रम मुसलमानको आक्रमणमा पर्याे । मुसलमानले तत्कालीन वर्णाश्रमलाई तहसनहस बनाए। कतिसम्म भने १४०६ मा बंगालका अमिर गयासुद्धिनले पशुपतिनाथकाे मन्दिर र शिवलिंग भत्काइ दिएका थिए । उनीहरुले सबैलाई एकल इस्लामी प्रणाली स्थापना गर्ने अभियान नै चलाए । यसले वर्णाश्रमको ढाँचामा परिवर्तन भयो । इस्लामबाट जोगिनका लागि सनातनी प्रणाली "हिन्दू धर्म" मा रूपान्तरित भयो ।

बालविवाह, सधवा–विधवा र छुतअछूतकाे व्यवहार प्रगाढ हुँदै गए । त्यतिखेर इस्लाम र हिन्दूबीच विधर्मीहरुलाई दास बनाउने प्रथा चल्याे । हिन्दुले बनाएका दासलाई शूद्रकै तहमा राखे । त्यही‌ंबाट जन्मका आधारमा वर्णको निर्धारण शुरु भयो । वर्णलाई सोपानक्रमिक बनाइयो । ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र क्रमशः ठूलादेखि साना मानिए ।

जात खसेको भन्ने अर्थमा जातपात भनिएको हो भने शूद्र जातको भनिएकासँग अरूले खानपान नगर्ने, संसर्ग नगर्ने, छुनै नहुने भन्ने अर्थमा छुवाछूत भनिंदै आएको हो।

शूद्रधर्म पालन गरिआएका परिवारको स्तरमा मुसलमानलाई पनि राखिने भएपछि शूद्रलाई अछूत जात भनियो । वर्णलाई जातको अर्थमा अर्थ्याइयो । स्वेच्छाले हैन जन्मका आधारमा जातअनुसारको काम गर्ने थिति बस्यो ।

आफैं वर्णान्तर गर्न पाइन छाड्यो । वर्णलाई माथिल्लो र तल्लो भनेर निर्धारण मात्र गरिएन माथिल्लो वर्णकोलाई तल्लो वर्णमा झर्न झार्न सकिए पनि तल्लो वर्णको मानिस माथिल्लो वर्णमा चढ्न सक्ने परिपाटी बन्द भयो ।

विक्रमको १३ शताब्दीसम्म आइपुग्दा जात र छुवाछूत कानूनी प्रणालीको महत्त्वपूर्ण हिस्सा बन्यो । कसैले अपराध गरेमा सजाय मात्र जातअनुसार हुने भएन सजायकै रूपमा उसको जात घटाउने काम हुन थाल्यो ।

मनुस्मृति, यज्ञवल्क्यस्मृति, नारदस्मृतिलगायत नै कानूनको हैसियत राख्थे । नेपालको इतिहासमा १४३६ मा जयस्थिति मल्लले जारी गरेको न्याय विकासिनीले यिनै स्मृतिका आधारमा जात अनुसार उँचनीच व्यवहार र सजाय गर्ने कानूनी प्रणाली स्थापित गर्यो।

नेपालमा २०२० सालसम्म जनै झिकिदिने (ब्राह्मण, क्षेत्रीय र वैश्यको जनै झिकेर तिनलाई शूद्रमा मिलाउने), टाङमुनि छिराउने (उच्च तीन जातभित्र उच्चलाई तल्लो जातमा झार्ने), जातपतित गर्ने (तल्लो जातमा झार्ने) र डाँडो कटाउने जस्ता सजाय प्रचलनमा रहे ।

जात खसेको भन्ने अर्थमा जातपात भनिएको हो भने शूद्र जातको भनिएकासँग अरूले खानपान नगर्ने, संसर्ग नगर्ने, छुनै नहुने भन्ने अर्थमा छुवाछूत भनिंदै आएको हो।

जातपात छुवाछूत समस्याको केन्द्र कहाँ ?

निस्सन्देह जातपात र छुवाछूतको समस्याको केन्द्र विश्वासप्रणाली हो । कुनै पनि मानिस जन्मँदै म यो जातको हुँ भनेर जन्मने होइन । विश्वास प्रणालीअनुसार समाजले जन्मगत जातको दाग लगाइदिन्छ । अनि त्यो दागलाई सकारेर त्यसलाई आफ्नो हैसियतको रूपमा ग्रहण गरिन्छ ।

नेपालमा अहिले भनिने जातपात र छुवाछूत जातीय (इथ्निक) होइन । यो त एकै नश्लका मानिसहरूबीचमा निर्मित सामाजिक पृथकीकरण हो । जन्मका आधारमा जातको निर्धारण भएको हो र जातको कुरा अनुवांशिक हो भन्ने गलत अवधारणामा आधारित विश्वास नै यो समस्याको केन्द्र हो ।

जन्मका आधारमा शूद्र जाति सबैभन्दा सानो हो र त्यसलाई अलग राख्नुपर्छ, तिनीहरू अछूत जात हुन् भन्ने यही बन्द विश्वासमा यो समस्याको जरो रहेको छ । भन्नुपर्दैन यस्तो विश्वास राख्ने भनेका गैरदलित पहिचानले चिनिने चिनाइने बाहुन, क्षेत्री र वैश्यहरूको जनसङ्ख्या नै हो ।

धर्म जिम्मेवार छैन ?

संस्कृत भाषामा प्रयोग भएको धर्म शब्द अङ्ग्रेजीको "रिलिजन" वा अरबीफारसीको "रब इबादत" समानार्थी  होइन । संस्कृतमा धर्म शब्द गुण, प्रकृति, सत्यता, विज्ञान र सदाचारलगायत कम्तीमा १० भिन्न अर्थमा प्रयोग भएको पाइन्छ । रिलिजन वा रब इबादत भनेको प्राधिकारी आज्ञा वा उपदेशको बन्धन हो । त्यसबारे प्रश्न गर्न पाइँदैन ।

नेपाली समाजमा प्रचलित आनुष्ठानिक र कर्मकाण्डमा पनि कतिपय कुरा प्रश्न गर्नै नपाइने र सरासर पालन गर्नुपर्ने छन् । त्यो हदसम्म कसैले तिनलाई धर्म मान्छ भने त्यो रिलिजन नै भयो ।

जातका आधारमा भेदभावको मान्यता मानसिक रूपले ग्रहण गरिन्छ र त्यसैका आधारमा छुवाछूत वा दुर्व्यवहार गरिन्छ भने त्यस्तो प्रतिष्ठान यसका लागि जिम्मेवार हुन्छ नै ।

शास्त्रीयमा पोन, बोन, बौद्ध, किराँत, युमा, शैवी वैष्णवी आदि पर्दछन् । तान्त्रिकलाई राज्यको कानून प्रणालीले सीमित स्थान दिएकाले तिनमा यो जातीय छुवाछूतको कुरा देखिंदैन । शास्त्रीय संस्कृति बढी राजकीय रहँदै आएकोले त्यहाँ माथि उल्लेख गरिएको १४३६ देखि २०२० सम्मको कानूनी प्रणालीकै विश्वास प्रणालीको वर्चस्व छ।

सनातन संस्कृति मान्नेले के गर्ने ?

नेपालको सनातन संस्कृति तान्त्रिक र शास्त्रीय छ । तान्त्रिकमा शिव, पाशुपत, गुरुबा (थारू) बौद्ध र शाक्तजस्ता आगम-निगम (धामीझाँक्री, मष्ट, अजिमा, गुभाजू)  पर्दछन् ।

शास्त्रीयमा पोन, बोन, बौद्ध, किराँत, युमा, शैवी वैष्णवी आदि पर्दछन् । तान्त्रिकलाई राज्यको कानून प्रणालीले सीमित स्थान दिएकाले तिनमा यो जातीय छुवाछूतको कुरा देखिंदैन । शास्त्रीय संस्कृति बढी राजकीय रहँदै आएकोले त्यहाँ माथि उल्लेख गरिएको १४३६ देखि २०२० सम्मको कानूनी प्रणालीकै विश्वास प्रणालीको वर्चस्व छ ।

यसैले सनातन संस्कृतिको संरक्षण र गौरव गर्नेहरूले आफ्नो विश्वाससमुच्चय (डक्ट्रिन) स्पष्ट पार्नै पर्छ । हामी जुन परिवारमा जन्मे पनि मानिस भएर जन्मिएका हौं । यो हौ ऊ हौ भन्ने काम अरूले गरेका हुन् समाजले गर्दै आएको हो ।

कुनै पनि मानिसको हैसियत मात्र हैन क्षमता पनि समान हो । कसको क्षमता कुन विषय वा पाटोमा मुखरित हुन्छ भन्ने कुराले भूमिका फरक खेलिने हो । यसैले जन्मजात हामी सबै बराबर हौं । म यो जातको, त्यो ऊ जातको भनेर हेरिने दृष्टि विश्वास र व्यवहार दोषी हुन् ।

हिन्दू धर्म भनेर त्यसका प्राधिकारको कुरा गर्ने हो भने मनुस्मृतिभन्दा माथि वेद र उपनिषद् छन् । व्याख्याका स्रोत त्यहाँ जन्मको आधारमा छूताछूतको परिकल्पना देखिंदैन । जातपात र छूताछूत नै मान्ने भए ऋग्वेदको दशौं मण्डलको १९१औं सूक्तले "सङ्गच्छधवंसंवोमनसिजानताम् । देवामागंयथापूर्वेसंजानानाउपासते ।" अर्थात् ए मानिस एकत्रित हौ, सँगै बस, सँगै बोल, तिम्रा मनले समान कुरा जानून् किन भन्थ्यो होला ? यस्तै १९१-३ सूक्तले समानोमन्त्रःसमितिसमानीसमानंमन... भनेर सबैलाई समानताको भित्री भावसाथ सामूहिक रूपमा अगाडि बढ किन भन्थ्यो होला ?

हामी जहिलेसम्म छुवाछूतको विश्वासलाई पालेर राखिरहन्छौं कसरी हुन्छ विभेदको मानसिकताको अन्त्य ? छुवाछूत र दुर्व्यवहार अन्त्य गर्ने हो भने गैरदलितहरूले मानसिक रूपमा रहेको विभेदकारी विश्वासको मानसिक सत्ता बदल्नैपर्छ ।

अन्त्यमा,

छुवाछूतसम्बन्धी व्यवहार र अपराधको मूल स्रोत व्यक्ति र व्यक्तिहरूको विश्वास प्रणालीसँग सम्बन्धित मनोविज्ञान हो । यस्तो मनोभाव पाल्ने मानिसले विल्कुल परस्परविरोधी कुरा गर्छ ।

उदाहरणको लागि हिन्दू धर्मको वकालत गर्नेहरू क्रिस्चियन धर्मको नेपालमा प्रभाव बढाउनमा दलित समुदायको क्रिस्तानीकरण गरियो पनि भन्छन् । अनि, तिनै कसैले छोएको खानु नखानू त उसको स्वतन्त्रताको कुरा हो नि ? (प्रतिप्रश्नः हिन्दू धर्म छाड्ने कसैको स्वतन्त्रता हुन्छ कि हुँदैन ?) हो, हामी जहिलेसम्म यस्तो तर्क गरेर छुवाछूतको विश्वासलाई पालेर राखिरहन्छौं कसरी हुन्छ विभेदको मानसिकताको अन्त्य ? छुवाछूत र दुर्व्यवहार अन्त्य गर्ने हो भने गैरदलितहरूले मानसिक रूपमा रहेको विभेदकारी विश्वासको मानसिक सत्ता बदल्नैपर्छ ।

प्रतिकृया दिनुहोस