बन्दाबन्दी सकिएको होइन, खुकुलो भएको होः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दाबन्दी अन्त्य नभएर केही खुकुलो भएको बताएका छन्। वैकल्पिक शिक्षा प्रणालीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खुकुलो गरिएको बन्दाबन्दीमा सचेत रहन आग्रह गरे।
“लकडाउन सकिएको होइन, केही खुकुलो भएको हो। तर, मनखुशी चल्ने गरेमा आफूसँगै परिवार र समाजमा समस्या आउँछ”, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले रेडियो, टेलिभिजन, अनलाइन र अफलाइन मार्फत् कक्षा शुरु गरिने बताए। माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको र शिक्षण प्रणालीमा समेत महामारीकै कारण नयाँ अभ्यास शुरु भएको बताए।
प्रधानमन्त्री ओलीले जहाँ जुन माध्यमको पहुँज हुन्छ त्यसैबाट पठनपाठन गर्न आग्रह गरे। आइतबार देखि वैकल्पिक सिकाई प्रविधि शुरु भएको छ।
प्रधानमन्त्री ओलीले अब आन्दोलनको आवश्यकता नभएको बताएका छन्। सुशासन र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध भएकाले ढुक्क रहन आग्रह गरे।
आरोप लगाए जस्तो गफ हानेको नभएर साँच्चै सरकार सुशासन स्वच्छताको पक्षमा रहेको बताए। “अप्ठ्यारोमा द्विविधा हुन्छ। त्यही दूर गर्न गर्न नेतृत्व चाहिन्छ। आरोप लगाए जस्तो गफ हानेको होइन।”