खेलकुद सोमबार, असार १, २०७७

उपाधि दावेदार रियल मड्रिडको सहज जित

हिमालखबर

उपाधि दावेदार रियल मड्रिडको सहज जित

स्पेनिस ला लिगामा एइबर विरुद्ध रियल मड्रिडले सहज जित निकालेको छ। आइतबार राति सकिएको खेलमा मड्रिडले एइबर विरुद्ध ३–१ गोल अन्तरले सहज जित निकालेको हो।

रियलले पहिलो हाफमै ३–० गोल अन्तरको अग्रता बनाएको थियो। उसका लागि टोनी क्रुसले खेल शुरु भएको चार मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। ३०औं मिनेटमा सर्जियो रामोस र ३७औं मिनेटमा मार्सेलोले गोल गरेपछि रियलले फराकिलो अग्रता बनायो।

छोटो समयको ब्रेक पछाडि शुरु भएको खेलमा रियलले थप गोल गर्न सकेन। एइबरका लागि भने पेड्रो बिगासले ६०औं मिनेटमा सान्त्वना गोल फर्काए। तर, एइबरको हार टार्न भने सकेन।

जितसँगै, रियलले प्रष्ट तीन अंक जोडेको छ। रियलले २८ खेलबाट ५९ अंक जोडेको छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले समान खेलबाट रियल भन्दा दुई अंक बढी जोडेको छ।

काेभिड महामारीका कारण राेकिएकाे लिग बिना दर्शक चलिरहेकाे छ। 

प्रतिकृया दिनुहोस