क्वारेन्टिनका स्वास्थ्यकर्मी र स्वयंसेवकमाथि सामूहिक बलात्कारको आरोप
उन्नति चौधरी, कैलाली
कैलालीको लम्की चुहा नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक महिलालाई स्वास्थ्यकर्मीसहित सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
लम्की चुहा नगरपालिका वडा नं. १ स्थित शहिद स्मृती माविको क्वारेन्टिनमा बस्दै आएकी ३१ वर्षीया महिलाले आफूमाथि सामुहिक दुर्व्यवहार भएको बताएकी छन् । आरोपीहरूमध्ये एकजना स्वास्थ्यकर्मी (हेल्थ असिस्टेन्ट) र अन्य दुई जना क्वारेन्टिनमै खटिएका स्वयंसेवक भएको उनले बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले तीनैजनालाई नियन्त्रणमा लिइसकेको जानकारी दिए । क्वारेन्टिनमै यौन दुर्व्यवहार भएको भन्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गर्दा केही घाइते भएको पनि प्रहरीले जनाएको छ ।
उनी भारतको बैंगलोरबाट आएर २० जेठदेखि क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।