महालेखाले एक महीनाभित्र प्रतिवेदन सार्वजनिक गर्ने
महालेखा परीक्षकको कार्यालयले ५७औँ वार्षिक प्रतिवेदन असार मसान्तभित्र सार्वजनिक गर्ने भएको छ।
कार्यालयका महालेखा परीक्षक टंकमणि शर्माले अघिल्लो आर्थिक वर्षको सरकारी खर्चको लेखा परीक्षण सम्बन्धी प्रतिवेदन असार मसान्तसम्ममा सार्वजनिक गर्ने बताए।
“अहिलेकै अवस्था जारी रह्यो भने असार मसान्तभित्रै प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेको छ”, उनी भन्छन्।
महालेखा परीक्षक शर्माले बन्दाबन्दीमा थप कडाइ भए कर्मचारीले काम गर्न अप्ठ्यारो हुने र असार मसान्त सम्ममा सार्वजनिक गर्न नसकिने बताएका छन्।
उनले बन्दाबन्दीको अवधिमा पनि ‘भर्चुअल’ लगायतका विभिन्न माध्यमबाट लेखा परीक्षणसम्बन्धी काम भएकाले असार मसान्तसम्ममा प्रतिवेदन सार्वजनिक गर्ने लक्ष्य राखेको बताए।
महालेखा परीक्षकको कार्यालयका अनुसार, नयाँ प्रतिवेदनमा कोरोना रोकथाम र उपचारका लागि भएको स्वास्थ्य सामग्री खरीदको विषय समावेश हुने छैन।
“स्वास्थ्य सामग्री खरीद र यसमा भएको खर्चको विषयलाई लिएर भइरहेको विरोध प्रदर्शनबारे हाम्रो ध्यानआकर्षण भएको छ” महालेखा परिक्षक शर्मा भन्छन्, “यो चालु आर्थिक वर्षको गतिविधि अन्तर्गत पर्ने भएकाले नयाँ प्रतिवेदन बुझाए लगत्तै स्वास्थ्य सामग्री खरीदमा भएको खर्चबारे लेखा परीक्षण गर्नेछौँ।”
अघिल्ला वर्षहरुमा महालेखा परीक्षकको कार्यालयले चैत महीनामा प्रतिवेदन सार्वजनिक गर्दै आइरेको थियो। तर, कोरोनाभाइरसको महामारी रोकथाम गर्न सरकारले बन्दाबन्दी गरेकाले समयमा प्रतिवेदन सार्वजनिक हुन पाएन।
यसअघि १६ चैत २०७६ मा कार्यालयले बन्दाबन्दीका कारण चैत महीनाभित्रै प्रतिवेदन सार्वजनिक गर्न नपाएको भन्दै मातहतका सबै कार्यालयहरुलाई २०७७ वैशाख तेस्रो सातासम्म समपरीक्षणको समय निर्धारण गरेकाले उक्त मितिभित्र कार्य सम्पादन गर्न निर्देशन दिएको थियो।