कला/साहित्य आइतबार, जेठ ३२, २०७७

बिर्सिन नसकेको प्रेम

हिमालखबर

बिर्सिन नसकेको प्रेम

कृतिः म बिर्सूं कसोरी, विधाः गीतसंग्रह, गीतकारः दिनेश अधिकारी, प्रकाशकः साङ्ग्रिला बुक्स, पृष्ठः २३४, मूल्यः रु.३५८

बालिका थपलिया

कवि तथा गीतकार दिनेश अधिकारी भावनालाई शब्दमा उतार्न खप्पिस छन्। उनका गीत र कविताको विशेषता नै शब्दचित्र हो। उनी लामो समयदेखि साहित्य र सङ्गीतको उत्थानमा साधनारत छन् । उनका लगभग ५०० गीत रेकर्ड भइसकेका छन् ।

‘म बिर्सूं कसोरी’ दिनेश अधिकारीको चौथो गीतसङ्ग्रह हो । यसअघि उनका ‘अविराम यात्रा’, ‘आफ्नै मनः आफ्नै आँगन’, ‘मन र मोडहरू’ गीतसङ्ग्रह प्रकाशित छन् ।

‘म बिर्सूं कसोरी’ सङ्ग्रहमा अधिकारीले शुरुआतदेखिका आफ्ना प्रतिनिधि र लोकप्रिय गीत समेटेका छन् । यसमा कतिपय चलचित्रको लागि लेखिएका गीत पनि छन् ।

उनी कवितामा गीत खोज्छन् र गीतमा कविता । गीत र कविताको सम्बन्धलाई दिनेशले मीठो शैलीमा बयान गरेका छन् । “गीत मेरो लागि कविताकै एउटा रूप हो । गाइए यो गीत हो, यसले साङ्गीतिक आनन्द दिन्छ । नगाइँदा कविता हो, यो आफैंमा पूर्ण हुन्छ ।”

पहिलो खण्डको नाम ‘देश/परिवेश’ छ । यो खण्डमा ४१ वटा गीत समावेश छन् । दोस्रो खण्ड ‘घामको पदचाप’ मा ९३ वटा गीत छन्। तेस्रो भाग ‘शिशिरको सुस्केरा’ मा ६८ वटा गरी जम्मा २०२ वटा गीत छन् ।

पहिलो भागका गीतहरूले अगाध देशप्रेमको भावना बोकेका छन् । उनी गीतमार्फत ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ’ भन्ने मान्यता राख्छन् । मन्दिर, मस्जिद, चैत्य र गुम्बालाई आफूभन्दा प्यारो गर्नुपर्ने सन्देश दिन्छन् । उनले नेपाली परिवेशको कटु वास्तविकतालाई लयात्मक शैलीमा चित्रण गरेका छन् ।

सरल शब्दमा गहन अनुभूतिको पदार्पण उनका गीतको विशेषता हुन् । जीवन र जगतलाई नजिकबाट नियालेर मानिसको पीडालाई उनले शब्द र भावनाको लेपन गरेका छन् । श्रीमान्को मृत्यु भएपछि श्रीमतीले भोग्नुपर्ने पीडालाई मर्मस्पर्शी रूपमा बयान गरेका छन् ।

अँगेनीको ओदान हो विधवाको छाती
दिनभरि पोलिराख्छ, बल्न थाल्छ राति ।

प्रेममा लजाउनु र धकाउनुको पनि अर्थ हुन्छ । यसलाई उनले गीतमा मीठो तरिकाले उल्लेख गरेका छन् । प्रेयसीको रहरमा नै उनी आफ्नो रहर देख्छन् । उनकै सन्तुष्टिमा दोस्रो भाग प्रणयमय छ । प्रेमको उच्छवासले ओतप्रोत छन् गीतहरू । धेरैजसो गीत रेकर्ड भएर जनमानसको जिब्रोमा झुण्डिएका छन् । यी कवि तथा गीतकारले प्रेमलाई गहिराइसम्म चुम्बन गरेको यथार्थलाई उनको सिर्जनाशक्तिले नै प्रतिबिम्वित गर्छ ।

तिमी यसै लजायौ, म उसै धकाएँ
न बोल्यौ तिमी नै, न मैले बोलाएँ
कति स्वप्न आए परेलीमा बस्न
न सोध्यौ तिमीले, न मैले सुनाएँ ।

उनका गीत पढ्दै गर्दा रेडियोमा स्वर र सङ्गीतबद्ध शब्दहरूको जागरण हुन्छ । उनका कर्णप्रिय र लोकप्रिय गीतहरू पढ्नको लागि पनि उत्तिकै वजनदार छन् । हरेक वर्षको तिहार दिनेशद्वारा रचित ‘निधारमा लर्काएर सप्तरङ्गी टीका’ गीत नसुन्दा अधुरो रहन्छ । यस्ता धेरै कालजयी गीतका सर्जक हुन् उनी ।

यो पुस्तकको तेस्रो भागमा पनि कतै प्रेम छल्किन्छ । कतै आशा र निराशाको दियो ढल्पलाउँछ । सुखदुःखका फूललाई टपक्क टिपेर उनले गीतिमाला उनेका छन् । जहाँ उनको कलाकारिता झल्किएको छ । सरल भाषामा दार्शनिकतालाई प्रस्तुत गर्ने क्षमता तारिफ गर्न लायक छ ।

धेरै चर्चित गायकले उनका गीतमा स्वर दिएका छन् । उनका केही गीत नारायणगोपालले पनि गाएका छन् । जस्तो,

तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए, सधैं चोट पायौ
म डुब्दो किनारा कहाँ हाँस्न सक्नुु ?
व्यर्थै तिमीले मेरो हात समायौ ।

अधिकारीद्वारा लिखित तारादेवीले गाएको ‘सोचे जस्तो हुन्न जीवन’ बोलको गीत सदावहार छ । जीवनको यथार्थलाई सूक्ष्म रूपमा अध्ययन गरेर लेखिएको छ, गीत ।

आफूले प्रेम गरेको मान्छेलाई भुल्न नसकेको प्रसङ्गलाई जोडेर उनले पुस्तकको नाम ‘म बिर्सूं कसोरी’ राखेका छन् । जुन कृतिसँग तालमेलयुक्त र सान्दर्भिक प्रतीत हुन्छ । उत्कृष्ट गीतको रसस्वादन गर्नको लागि यो सङ्ग्रह अभिलेखयोग्य र पठनीय छ ।

प्रतिकृया दिनुहोस