दुई हप्तासम्म कोरोना परीक्षणको रिपोर्ट नआएपछि रौतहटमा झडप, प्रहरीले गोली चलायो
रौतहटको राजपुर नगरपालिकाको क्वारेन्टिनमा रहेकाहरूले स्वाब संकलन गरेर लगेको दुई हप्ता भइसक्दा पनि परीक्षणको नतिजा नआएको भन्दै सडकमा नै प्रदर्शन गरेका छन् ।
राजपुर १ को बहुअर्वा र आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका मानिसले स्वाब परीक्षणको नतिजा माग गर्दै चन्द्रपुर–गौर सडकखण्डको बहुअर्वामा सडक अवरुद्ध पारेर प्रदर्शन गर्न थालेपछि प्रहरीसित झडप भएको हो।
क्वारेन्टिनबाट बाहिर निस्केर सडकमा प्रदर्शन गर्न थालेपछि गौर र गरुडाबाट गएको प्रहरीको टोलीले प्रदर्शनकारीलाई क्वारेन्टिनमा फर्काउन खोजेको थियो । प्रदर्शनमा उत्रेका क्वारेन्टाइनमा रहेकाहरूले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रहार गर्दै दुई राउन्ड हवाई फायर पनि गरेको छ । प्रहरीमाथि ढुंगा प्रहार गर्दै क्वारेन्टिनबाट भाग्न खोजेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको इलाका प्रहरी कार्यालय रौतहटका डीएसपी ज्ञानकुमार महतोले जानकारी गराएका छन्।
क्वारेन्टिनमा रहेका प्रदर्शनकारीले हानेको ढुंगा लागेपछि प्रहरी हवलदार सुबोध सिंह घाइते भएका छन्।
क्वारेन्टिनबाट भागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टिनमा नै फर्काइदिएको छ।
स्वाब संकलन भएको हप्तौँ भइसक्दा पनि परीक्षणको नतिजा नआउँदा अत्यधिक गर्मीमा जस्तापाताको घरमा बस्नु परेकाहरू आजित भइसकेका छन्।
राजपुर नगरपालिकाका विभिन्न क्वारेन्टिनमा हजारभन्दा बढी मानिस रहेका छन्।
सञ्जय मित्र, रौतहट